नाइट राईडर्सको अपराजित यात्रा कायमै : जमैका फेरी पराजित
एजेन्सी । त्रिनबागो नाइट राईडर्सले क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा लगातार सातौं जित हासिल गर्ने क्रममा मंगलबार राति जमैका तल्लावाजलाई १९ रनले पराजित गरेको छ ।
प्रतियोगितामा अपराजित रहेको नाइट राईडर्स यो जितसँगै १४ अंकसहित अंकतालिकाको शीर्षस्थानमा यथावत रहँदा सेमिफाइनल पक्का गरेको छ । यता नाइट राईडर्ससँग पराजित हुन् पुगेको जमैकाको भने थप कठिन बनेको छ । हालसम्म ७ खेल खेलेको जमैकाले अंकतालिकामा ६ अंक मात्र जोडेको छ ।
यता खेलमा नाइट राईडर्सले दिएको १ सय ८५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जमैका निर्धारित २० ओभर पूरै खेलेपनि ६ विकेट गुमाएर १ सय ६५ रनमा सिमित हुन् पुग्दा नाइट राईडर्सलाई जित हासिल गर्न प्रयाप्त बन्यो ।
विशाल लक्ष्यलाई पछ्याएको भएपनि जमैकाको ब्याटिङ यो खेलमा पनि चलेन ।उसका लागि आन्द्रे रसेलले अविजित रह्दै ५० रन बनाएपनि जित भने दिलाउन सकेनन् । यस्तै टिमका लागि ग्लेन फिलिप्सले ४१ रन तथा एनक्रुमा बोनरले २६ रन बनाएका थिए ।
बलिङततर्फ नाइट राईडर्सका फवाद अहमदले २ तथा सुनिल नारायण , खैरी पियरे, ब्राबो र अकेल होसेनले पनि समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि ब्रायन लारा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राईडर्सले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
नाइट राईडर्सले उक्त विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुनिल नारायणले आक्रमक ब्याटिङ गर्दै टिमलाई ठोस सुरुवात दिलाएका थिए ।
२.४ ओभरमा कार्लोस ब्रेथवेटको बलमा क्याच आउट हुनुअघि उनले मात्र ११ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा २९ रन बनाएका थिए ।
नारायण आउट भएपछि लेन्डल सिमन्सलाई साथ दिन कोलिन मुनरो मैदानमा आएका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ४६ रनको साझेदारी हुन् पुगेको थियो ।
तर ९.३ ओभरमा टिमको स्कोर ७८ रन हुँदा सिमन्स ब्यक्तिगत २५ रनमा आउट हुन् पुगे। २८ बलको सामना गर्दै उक्त रन बनाएका सिमन्स सन्दीप लामिछानेको बलमा मुजिव उर रहमानको हातबाट क्याच आउट हुन् पुगेका थिए ।
त्यसपछि नाइट राईडर्सले तेस्रो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान टिम सेफर्टलाई गुमाएको थियो । १४.२ ओभरमा टिमको स्कोर १ सय ११ रन हुँदा पभेलियन फर्किएका उनले १८ रन जोडे ।
तेस्रो विकेट पछि पनि टिमको पारीलाई एकतर्फबाट कोलिन मुनरोले अगाडी बढाईरहे । त्यस्तै उनलाई कप्तान किरोन पोलार्डले अर्कोतर्फबाट साथ दिदै गए । यस क्रममा मुनरोले सर्वाधिक धेरै रन बनाउने क्रममा ६५ रन बनाए भने पोलार्ड ३३ रनमा अविजित रहे ।
बलिङतर्फ जमैकाका कार्लोस ब्रेथवेटले २ तथा फिदेल एडवर्ड्स र सन्दीप लामिछानेले पनि समान एक -एक विकेट लिएका थिए ।
सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै मात्र २० रन खर्चिएर १ विकेट लिएका थिए । यो सँगै जारी प्रतियोगितामा सन्दीपले आफ्नो विकेट सङ्ख्या १० पुर्याएका छन् ।