onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नाइट राईडर्सले जमैकालाई दियो विशाल लक्ष्य : सन्दीपको भने किफायती बलिङ

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत आफ्नो सातौं खेलमा त्रिनबागो नाइट राईडर्सले जमैका तल्लावाजसामू विशाल चुनौती प्रस्तुत गरेको छ ।

ब्रायन लारा रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राईडर्सले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।

नाइट राईडर्सले उक्त विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुनिल नारायणले आक्रमक ब्याटिङ गर्दै टिमलाई ठोस सुरुवात दिलाएका थिए ।

२.४ ओभरमा कार्लोस ब्रेथवेटको बलमा क्याच आउट हुनुअघि उनले मात्र ११ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा २९ रन बनाएका थिए ।

नारायण आउट भएपछि लेन्डल सिमन्सलाई साथ दिन कोलिन मुनरो मैदानमा आएका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ४६ रनको साझेदारी हुन् पुगेको थियो ।

तर ९.३ ओभरमा टिमको स्कोर ७८ रन हुँदा सिमन्स ब्यक्तिगत २५ रनमा आउट हुन् पुगे। २८ बलको सामना गर्दै उक्त रन बनाएका सिमन्स सन्दीप लामिछानेको बलमा मुजिव उर रहमानको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

त्यसपछि नाइट राईडर्सले तेस्रो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान टिम सेफर्टलाई गुमाएको थियो । १४.२ ओभरमा टिमको स्कोर १ सय ११ रन हुँदा पभेलियन फर्किएका उनले १८ रन जोडे ।

तेस्रो विकेट पछि पनि टिमको पारीलाई एकतर्फबाट कोलिन मुनरोले अगाडी बढाईरहे । त्यस्तै उनलाई कप्तान किरोन पोलार्डले अर्कोतर्फबाट साथ दिदै गए । यस क्रममा मुनरोले सर्वाधिक धेरै रन बनाउने क्रममा ६५ रन बनाए भने पोलार्ड ३३ रनमा अविजित रहे ।

बलिङतर्फ जमैकाका कार्लोस ब्रेथवेटले २ तथा फिदेल एडवर्ड्स र सन्दीप लामिछानेले पनि समान एक -एक विकेट लिएका थिए ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै मात्र २० रन खर्चिएर १ विकेट लिएका थिए । यो सँगै जारी प्रतियोगितामा सन्दीपले आफ्नो विकेट सङ्ख्या १० पुर्याएका छन् ।

अब नाइट राईडर्सले प्रस्तुत गरेको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जमैकाले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।