जन्मदिन मनाइयोस् त यसरी !

जन्मदिन मनाइयोस् त यसरी !

काठमाडौं (अनलाइन खेलखबर )।पृथ्वीमा पहिलोपटक पाईला टेकेको दिन अर्थात आफ्नो जन्मदिन मानिसहरुका लागि सदैभ प्रिय र उर्जावान दिन बनेर आएको हुन्छ । त्यसैले पनि होला जन्म लिएको दिन मानिसहरुले विभिन्न तरिकाले आफ्नो जन्मदिनलाई मनाउने गर्छन् ।

यस्तोमा जन्मदिन मनाउने हरेकका आ-आफ्नै तरिका र शैली हुने गर्छ । केही रमाइलो, कतै साथीहरुसँग घुम्न गएर, मठ मन्दिर धाएर वा परिवारको साथमा केही अविस्मरणीय क्षण सिर्जना गरेर । सामान्यतया मानिसको जन्मदिन मनाउने तरिका यस्तै यस्तै हुन्छ ।

तर कमै मात्र यस्ता हुन्छन् जो आफ्नो खुशीलाई अरुसामू साटेर विशेषदिनलाई थप विशेष बनाउने गर्छन् ।

हो यस्तै अहिले नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले आफ्नो दाईको जन्मदिनको अवसर पारेर त्यस खुशीको दिनलाई अझ विशेष बनाएकी छिन् ।

हाल वैदेशिक रोजगारीको सिलसिलामा एसियाली मुलुक कतारमा रहेका आफ्नो दाई पवन क्षेत्रीको जन्मदिन उनले झापा मेचिनगरमा अवस्थित जागृत बाल उद्धार केन्द्रका स-साना भाईबहिनीहरुसँग सोमबार मनाएकी छिन् ।

सेवानै धर्म हो भन्ने आदर्शलाई राम्रोसँग ग्ररण गर्ने उनका दाइ पवनको जन्मदिन मनाउने क्रममा उनले त्यहाँ रहेका बाल-बालिकाहरुलाई मिठो भोजनको ब्यबस्था गर्नुका साथै उनिहरुको पठनपाठनमा केहि सहयोग होस् भनेर केहि पुस्तक ,कलम र लुगाहरु पनि प्रदान गरेकी थिइन् ।

यसका साथै उनले हाल देखिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै उद्धार केन्द्रलाई ५० ओटा मास्क र खाद्यान्न पनि सहयोग गरेकी थिइन् ।