जमैकाको असली परिक्षा भोलि : नाइट राईडर्ससँग भिड्दै

जमैकाको असली परिक्षा भोलि : नाइट राईडर्ससँग भिड्दै

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत आफ्नो सातौं खेलमा भोलि (मंगलबार ) जमैका तल्लावाजले अपराजित रहदै अंकतालिकाको शीर्ष स्थानमा रहेको त्रिनबागो नाइट राईडर्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार मंगलबार राति पौने ८ बजेपछि सुरु हुने खेलमा जमैकाका लागि असली परिक्षा हुनेछ । प्रतियोगिता सुरु हुनु भन्दा अघि प्रतियोगिताको उपाधि दाबेदार टिमको रुपमा हेरिएको भएपनि जमैकाले अहिले मिश्रित प्रदर्शन गरिरहेको छ ।

यस्तोमा हाल उच्च लयमा रहेको नाइट राईडर्ससँगको खेल जमैकाका लागि आफैमा चुनौतीपूर्ण देखिन्छ । अघिल्लो भेटमा पनि जमैका नाइट राईडर्ससँग निराश हुन पुगेको थियो ।

अब आफ्नो दाबेदारीलाई जिवितै राख्ने हो भने प्रतियोगिताको बलियो टिम नाइट राईडर्सलाई जमैकाले हराउँनै पर्छ ।

अघिल्लो खेलमा सेन्ट किट्सलाई हराएको जमैका अहिले भने हौसिएको छ । सेन्ट किट्स त्यहीँ टिम हो । जो ७ खेलबाट मात्र १ खेल जित्दै अंकतालिकाको पुछाँरमा रहेको छ ।

सेन्ट किट्समाथि जित निकालेपछि अब जमैका जितको लयलाई यथावत राख्न चाहन्छ । लिग चरणको खेलहरु सकिनै लाग्दा अब जमैकालाई सेमिफाइनल पुग्न पनि बाँकी खेलहरु उत्तिकै महत्वपूर्ण रहेको छ ।

जारी प्रतियोगितामा ६ खेल खेलिसकेको जमैकाले ३ खेलमा जित र ३ खेलमै हार ब्यहोर्दै ६ अंकसहित अंकतालिकाको चौथों स्थानमा रहेको छ ।

विषेशत:प्रतियोगितामा जमैकाको ब्याटिङ त्यति सन्तोषजनक हुन् सकिरहेको छैन। प्रतियोगितामा अगाडि बढनु छ भने जमैकाले ब्याटिङमा सुधार ल्याउन जरुरी छ ।

बलिङ भने जमैकाले सुरुवात देखि राम्रो गर्दै आएको छ । खासगरि नेपालका सन्दीप लामिछाने र अफगानिस्तानका मुजिव उर रहमानको जोडीले टिमका लागि सानदार प्रदर्शन गरिरहेका छन् । जसअन्तर्गत सन्दीपले ९ तथा मुजिवले १३ विकेट हात पारिसकेका छन् ।

प्रतियोगितामा मिश्रित प्रदर्शन गरिरहेको जमैकाले सुरुवात भने सुखद गरेको थियो । सुखद सुरुवात गर्ने क्रममा जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो ।

त्यसपछि भने जमैका त्रिनबागो नाइट राईडर्ससँग ७ विकेटले र गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित हुन् पुगेको थियो ।

चौथो खेलमा भने जमैकाले गुयानालाईनै ५ विकेटले पराजित गर्दा पाँचौ खेलमा फेरी जमैका बार्बोडससँग ३६ रनले पराजित हुन पुगेको थियो । र अघिल्लो खेलमा फेरी जित हासिल गर्ने क्रममा जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको थियो ।