अमेरिकामा रहेको नेपाली राइनोज क्रिकेट क्लबबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग

अमेरिकामा रहेको नेपाली राइनोज क्रिकेट क्लबबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई डायलोसिसको साहारामा रहेका क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतलाई अमेरिकास्थित डलासमा रहेको नेपाली राइनोज क्रिकेट क्लबले ठूलो आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय खेलाडी सुवास खकुरेलको पहलमा सोमबार क्लबले नेपालमा कुन्दन सिंह बचाउँ अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत उनलाई नगद १ लाख ५ हजार सहयोग गरेको छ ।

सहयोग गर्नेमा क्लबमाआवद्ध पूर्व क्रिकेट खेलाडी कनिष्क चौलागाईं,वरदान चालिसे,राकेश कर्ण,अनुनय बस्नेत,सागर पन्त ,बन्तु बताजु रहेका छन् । यस्तै क्लबकै आशिष लामा र सन्जय शर्माले पनि सहयोग गरेका थिए ।

अमेरिकामा रहेर लामो समय देखि क्रिकेटमा क्रियाशिल रहेको यस क्लबले सन् २०१६ मा विश्व चर्चित अनुहारको सहभागिता रहेको टु-एक्स क्रिकेट युएसए कपको उपाधि उचालेको थियो ।

त्यसबेला त्यस प्रतियोगितामा राइनोज क्लबबाट खेल्न नेपाली क्रिकेट टोलीका पारस खड्का,ज्ञानेन्द्र मल्ल,शरद भेषावकर, बसन्त रेग्मी,सुवास खकुरेल,सोमपाल कामी,सिद्धान्त लोहनी र पृथु बास्कोटा अमेरिका पुगेका थिए । र अमेरिकामानै रहेका पूर्व राष्ट्रिय खेलाडी वरदान चालिसे,बन्टु बटालु,सागर पन्त जस्ता खेलाडीको पनि उक्त प्रतियोगितामा सहभागिता रहेको थियो ।

पारस खड्काले कप्तानी रहेको राइनोजले उपाधिसँगै ६० हजार अमेरिकन डलर पनि प्राप्त गरेको थियो ।

यता कुन्दनलाई यसअघि प्रदेश २ क्रिकेट संघले १ लाख तथा जनकपुरका युवा भवेश मिश्रको समूहले संकलन गरेको ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ उनलाई प्रदान गरिसकिएको छ । र अहिले विभिन्न माध्यमबाट सहयोग रकम संकलन पनि भईरहेको छ ।

त्यस क्रममा युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत पनि सहयोग रकम संकलित भईरहेको छ ।

करिब ११ महिना अघि दुबै मिर्गौला फेल भएका कुन्दनले अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलोसिस गर्दै आएका छन् ।

यसबीचमा उनि कोरोना भाइरस ( कोभिड-१९ ) बाट पनि सक्रमित हुन् पुगेका थिए। तर अहिले उनि भाइरसलाई जितेर महोत्तरीस्थित जलेश्वर आफ्नो घरमा फर्किसकेका छन् ।