नाइट राईडर्सको उत्कृष्ट लय जारी : लगातार छठौं जित
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल )मा किरोन पोलार्डको कप्तानीमा रहेको त्रिनबागो नाइट राईडर्सको उत्कृष्ट लय जारी रहेको छ ।
जारी प्रतियोगितामा अपराजित रहेको नाइट राईडर्सले शनिबार राति आफ्नो छठौं खेलमा पनि बार्बाडोस ट्राईडेन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।
खेलमा बार्बाडोसले प्रस्तुत गरेको १ सय ४९ रनको विजयी लक्ष्यलाई नाइट राईडर्सले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई प्रतियोगितामा लगातार छ्टौं जित दिलाउने क्रममा उसका लागि कप्तान पोलार्डले सानदार ब्याटिङ गरे । निकै आक्रमक शैलीमा प्रस्तुत भएका उनले मात्र २८ बलको सामना गर्दै २ चौका र ९ छ्क्कासहित ७२ रनको योगदान गरेका थिए ।
यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान लेन्डल सिमन्सले ३२ रन बनाउनु बाहेक अन्यले भने सन्तोषजनक प्रदर्शन गरेका थिएनन् ।
बलिङतर्फ बार्बोडोसका लागि कप्तान जेसन होल्डरले २ विकेट लिएका थिए । भने मिशेल सेंटनर,रासिद खान , हेडन वाल्श र रेमन रीफरले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि क्विन्स पार्क ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बोडोसले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
उक्त रन बनाउने क्रममा बार्बोडोसका लागि जॉनसन चार्ल्सले सर्वाधिक ठूलो पारी खेले ।३७ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित ४७ रन बनाएका थिए ।
यस्तै टिमका लागि काइल मेयर्सले पनि ४२ रनको योगदान गर्दा एशले नुर्सेले पनि १९ रन थपेका थिए ।
यता बलिङतर्फ नाइट राईडर्सका अकाल होसिन,जयदेन सील र सिकन्दर राजाले समान २/२ विकेट लिएका थिए ।भने फवाद अहमदले पनि १ विकेट लिन सफल भए ।
योसँगै लगातार ६ खेलमा जित निकाल्दै नाइट राईडर्स १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । भने राईडर्ससँग पराजित हुन् पुगेको बार्बोडोस समान ६ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंकसहित अंकतालिकाको चौथों स्थानमा रहेको छ ।