सिपीएलमा जमैकाको तेस्रो जित : सन्दीपको नाममा २ विकेट
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले वेस्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग (सिपीएल ) तेस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा तेस्रो जित हासिल गर्ने क्रममा जमैकाले शनिबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गरेको छ ।
खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सेन्ट किट्स १९.४ ओभरमा अलआउट हुँदै १ सय १० रनमा सिमित हुँदा खेल जमैकाले आफ्नो पक्षमा पार्न सफल भयो।
मध्यम चुनौतीलाई पछ्याएको भएपनि सेन्ट किट्सले निकै खराब ब्याटिङ प्रस्तुत गर्यो । जारी प्रतियोगितामा कमजोर टिमको रुपमा देखिएको सेन्ट किट्सका लागि ओपनर ब्याट्सम्यान किरन पावेल र कप्तान एविन लुईसले समान २१/२१ रन बनाएका थिए ।
भने निक केलिले १६ तथा विकेट किपर ब्याट्सम्यान दिनेश रामदीनले १३ रन बनाउनुबाहेक अन्य खेलाडीबाट उल्लेख योगदान हुन् नसक्दा सेन्ट किट्स स्तब्ध हुन् पुग्यो ।
सेन्ट किट्सको ब्याटिङ ध्वस्त पार्ने क्रममा जमैकाका कार्लोस ब्रैथवेटले सर्वाधिक ३ विकेट हात पारे । भने सन्दीप लामिछाने ,फिदेल एडवर्ड्स र वीरासम्मी पोरमुलले पनि समान २/२ विकेट हात पारेका थिए । भने मुजिव उर रहमानले १ विकेट हात पारे ।
सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै २७ रन खर्चिएर २विकेट लिएका थिए ।उनले कप्तान एविन लुईस र ईश सोधिलाई पभेलियनको बाटो देखाईदिएका थिए । योसँगै जारी प्रतियोगितामा सन्दीपले आफ्नो विकेट सङ्ख्या ९ पुर्याएका छन् ।
त्यसअघि क्विन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
उसका लागि ओपनर ब्याट्सम्यान ग्लेन फिलिप्सले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ६१ बलको सामना गर्दै २ चौका र ६ छ्क्कासहित ७९ रन बनाएका थिए । उनि पछि खेलको प्लेयर अफ द म्याचसमेत चुनिएका थिए ।
यस्तै जमैका का लागि जर्मेन ब्लैकवुडले २७ रन , नकरमाह बोनरले १६ रन र असिफ अलिले १४ रन बनाएका थिए ।
बलिङतर्फ सेन्ट किट्सका कप्तान रेयाद एमिटले ३ तथा इमरान खान , ईश सोधि र शेल्डन कॉटरेलले समान १/१ विकेट लिएका थिए ।
यो जितसँगै जमैका ६ खेलबाट ३ मा जित र ३ खेलमा हार ब्यहोर्दै ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता जमैकासँग पराजित हुन् पुगेको सेन्ट किट्स ६ खेलबाट १ खेलमा मात्र जित निकाल्दै २ अंकका साथ अंकतालिकाको पुछाँरमा रहेको छ ।