
अनएकेडेमी आईपीएलसँग जोडियो : बिसीसीआईलाई थप राहत
एजेन्सी । भारतको शिक्षा क्षेत्रको क्रियाशिल कम्पनी अनएकेडेमी इन्डियन प्रिमियर लिग (आईपीएल ) सँग जोडिएको छ ।
शनिबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले एक प्रेस विज्ञप्ति जारी गर्दै अनएकेडेमीसँग आईपीएलका लागि प्रायोजन सम्झौता भएको जानकारी गराएको छ ।
सम्झौता अनुरुप अब अनएकेडेमी आईपीएलको आधिकारिक प्रायोजक बनेको छ । अनएकेडेमी आईपीएलसँग यो सिजनसँगै आगामी दुई सिजनसम्म जोडिने छ ।
यसअघि आईपीएलको मुख्य प्रायोजकको रुपमा ड्रीम-११ जोडिएको थियो । त्यसअघि मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजन गर्नबाट हात उठाएपछि ड्रीम-११ आईपीएलसँग जोडिएको थियो ।
तर यसबीचमा पछिल्लो पाँच वर्ष देखि जोडिदै आएको एसोसियट प्रायोजक फ्युचर ग्रुपले भने आईपीएलबाट विदाई लिएको थियो । यस्तोमा फ्युचरको साथ गुमाएको आईपीएललाई अनएकेडेमीको आगमनले भने ठूलो राहत दिएको छ ।