आज हुने सेन्ट किट्सविरुद्धको खेलमा जमैकालाई जित्नै पर्ने दबाब

आज हुने सेन्ट किट्सविरुद्धको खेलमा जमैकालाई जित्नै पर्ने दबाब

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत आफ्नो छ्ठौं खेलमा आज राति जमैका तल्लावाजले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार शनिबार राति १२ बजेपछि हुने खेलमा जमैकालाई जित्नै पर्ने दबाब रहेको छ । हालसम्म पाँच खेलेको जमैकाले मात्र २ खेलमा जित हासिल गरेको छ । र ४ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

यस्तोमा प्रतियोगिताको दोस्रो चरणमा पुग्न जमैकालाई अबका खेल निकै महत्वपूर्ण रहेको छ । ६ फेन्चाईज टोलीको सहभागी रहने यस प्रतियोगिताको प्राबधान अनुसार एउटा टिमले १० खेल खेल्ने गर्छ ।

यसरी खेलिसकेपछि अंकतालिकाको शीर्ष चार टोलीले सेमिफाइनल पक्का गर्नेछन् । जस अन्तर्गत पहिलो सेमिफाइनलमा अंकतालिकाको पहिलो स्थानमा रहेको टोलीले चौथों स्थानमा रहेको टोलीसँग प्रतिष्पर्दा गर्नेछ ।
भने दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानमा रहेको टोलीको सामना गर्नेछ ।

प्रतियोगिताको उपाधि दाबेदार टिमको रुपमा हेरिएको जमैकाले आधा खेल सकिदा सम्म त्यस्तो राम्रो प्रदर्शन गरेको भने छैन ।

प्रतियोगितामा मिश्रित प्रदर्शन गरि रहेको जमैकाले सुरुवात भने सुखद गरेको थियो । सुखद सुरुवात गर्ने क्रममा जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो ।

त्यसपछि भने जमैका त्रिनबागो नाइट राईडर्ससँग ७ विकेटले र गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित हुन् पुगेको थियो ।

चौथो खेलमा भने जमैकाले गुयानालाईनै ५ विकेटले पराजित गर्दा अघिल्लो खेलमा फेरी जमैका बार्बोडससँग ३६ रनले पराजित हुन पुगेको थियो ।

यता जमैकाको सामना गर्न लागेको सेन्ट किट्सले प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ५ खेल खेलेको सेन्ट किट्सले मात्र एक खेलमा जित निकाल्दै २ अंकसहित अंकतालिकाको पुछाँरमा रहेको छ ।
जमैकाले प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको भएपनि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भने राम्रो प्रदर्शन गरिरहेका छन् । जसअन्तर्गत उनले अहिले सम्म ७ विकेट लिईसकेका छन् । र उनको प्रदर्शनकै आधारमा पनि आज राति हुने खेलमा उनले स्थान बनाउने उच्च सम्भावना रहेको छ ।