onlinekhelkhabar.com

Complete website for Nepali Sports News

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल नतिजा विहिन

एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेल नतिजा विहिन हुन् पुगेको छ ।

शुक्रबार राति भएको खेलमा वर्षा बाधक भएपछि खेल अन्ततः नतिजा विहिन हुन् पुगेको थियो ।

म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा वर्षा बाधक बनेको खेलमा टस जितेर पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसअनुरुप इंग्ल्यान्डले १६.१ ओभर भित्र ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको अवस्थामा मैदानमा भारी मात्रामा पानी पर्न थालेपछि अन्ततः खेल पूरानै हुन् सकेन ।

खेलमा इंग्ल्यान्डले पहिलो ओभरको पाँचौ बलमा टिमको स्कोर ३ रन हुँदा ओपनर ब्याट्सम्यान जोनि बेयरस्टोलाई ब्यक्तिगत २ रनमा इंग्ल्यान्डले गुमाएको थियो ।

त्यसपछि टम बेन्टन र दाऊद मालनले इंग्ल्यान्डको इनिङलाई अगाडी बढाएका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ७१ रनको साझेदारी हुन् पुगेको थियो ।

९.३ ओभरमा टिमको स्कोर ७४ रन हुँदा रन आउट हुँदै पभेलियन फर्किएका मालनले २३ बलको सामना गर्दै २ चौकासहित २३ रनको योगदान गरेका थिए ।

मालन आउट भएपछि टम बेन्टनलाई साथ दिन कप्तान इयोन मोर्गन मैदान प्रवेश गरेका थिए । तर यो जोडी लामो समयसम्म टिक्न सकेन ।

१२.३ ओभरमा टिमको स्कोर १ सय ९ रन हुँदा तेस्रो विकेटका रुपमा राम्रो ब्याटिङ गरिरहेका ओपनर ब्याट्सम्यान टम बेन्टन आउट हुन पुगे । शादब खानको बलमा क्याट आउट हुनुअघि टम बेन्टनले ४२ बलको सामना गर्दै ४ चौका र ५ छ्क्कासहित ७१ रन बनाएका थिए ।

टम बेन्टन आउट भएपछि भने इंग्ल्यान्डले आफ्नो विकेट गुमाउँदै गयो । त्यस क्रममा कप्तान इयोन मोर्गनले १४ रन बनाउदा मोइन अलि पनि ४ रन बनाएर आउट हुन पुगेका थिए ।

यस्तै लुईस ग्रेगरीले २ रन बनाउँदा साम बिलिंग्स ३ रनमा र क्रिस जोर्डन २ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ पाकिस्तानका इमाद वासिम र शादब खानले समान २/२ विकेट लिएका थिए । भने ईफ्तिकार अहमदले एक विकेट हात पारेका थिए ।
अब यी दुईबीचको दोस्रो खेल आईतबार हुनेछ ।