onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीपको टिम जमैकाले बार्बाडोससँग भिड्दै

एजेन्सी। वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले आफ्नो पाँचौ खेलमा बिहिबार बिहान बार्बाडोस ट्राईडेन्ट्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार बिहान सवा ३ बजेपछि क्विन्स पार्क ओवलमा सुरु हुने खेलमा जमैका तेस्रो जितको खोजिमा रहने छ ।

प्रतियोगिताको लिग चरणमा एक टिमले १० खेल खेल्ने हुँदा प्रतियोगिताको सेमिफाइनल पुग्न जमैकाका लागि अबका खेल उत्तिकै महत्वपूर्ण रहेको छ ।

अहिलेसम्म ४ खेल खेलेको जमैका ४ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

यता बार्बाडोस ट्राईडेन्ट्सले पनि समान ४ खेल खेल्दै ३ मा हार र १ खेलमा जित निकाल्दै २ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्बाडोस ट्राईडेन्ट्समा अफगानिस्तानका राशिद खानसहित जेसन होल्डर, शाई होप, हेडन वाल्श, मिचेल सान्टनार ,कोरी एन्डरसन लगायतका स्टार खेलाडीहरु रहेका छन् ।

तसर्थ आजको खेल जमैका लागि पनि असली परिक्षा हुनेछ । दुबै टोलीमा उत्तिकै राम्रा खेलाडीको बाहुल्यता भएको हुँदा यो खेल प्रतिष्पर्दात्मक बन्ने अनुमान गरिएको छ ।

यता जारी प्रतियोगितामा सन्दीपले टिमको सुरुवाती चार खेलमै स्थान बनाउन सफल भएका छन् । र प्रदर्शन पनि राम्रो गरिरहेको हुँदा बार्बाडोसविरुद्धको यो खेलमा पनि उनलाई टिमले निरन्तरता दिने सम्भावना प्रबल रहेको छ । सन्दिपले अहिले सम्म ५ विकेट लिईसकेका छन् ।