सिपीएलमा जमैकाको दोस्रो जित : सन्दीपको कसिलो बलिङ
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा दोस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा जमैकाले गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।
बुधबार बिहान भएको खेलमा गुयानाले प्रस्तुत गरेको १ सय ९ रनको झिनो विजयी चुनौतीलाई जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
जमैकालाई जित दिलाउन अत्यतिर एनक्रुमा बोनर र आन्द्रे रसलको जोडीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अविजित रहेका दुबैले क्रमशः ३० र २३ रन बनाएपछि जमैकाले जित आत्मसाथ गरेको थियो ।
यस्तै ओपनर ब्याट्सम्यान ग्लेन फिलिप्सले २६ तथा जेर्मेन ब्ल्याकवुडले पनि २३ रनको योगदान गरेका थिए ।
बलिङतर्फ गुयानाका लागि नवीन उल हकले २ तथा इमरान ताहिर , कीमो पॉल र अश्मेद नेडले १/१ विकेट लिएका थिए ।
त्यसअघि क्विन्स पार्क ओवलमा भएको खेलमा जमैकाले टस जितेर गुयानालाई ब्याटिङको निम्तो दिएको थियो । जसअन्तर्गत खराब ब्याटिङ गर्दै गुयानाले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाएको थियो ।
उसका लागि रोस टेलरले सर्वाधिक २३ तथा निकोलस पूरानले १५ र अत्यतिर अश्मेद नेडले अविजित रहदै २० रन जोड्दा बाँकी अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोडन सकेनन् ।
गुयानाको ब्याटिङ ध्वस्त पार्ने क्रममा जमैकाका फिदेल एडवर्ड्स र मुजीब उर रहमानले समान ३/३ विकेट लिएका थिए । भने आन्द्रे रसेल र सन्दीप लामिछानेले पनि १ /१ विकेट हात पारे ।
आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका सन्दीपले मात्र १२ रन खर्चिएर १ विकेट लिएका थिए । १ विकेट लिने क्रममा उनले शेर्फेन रदरफोर्डलाई ब्यक्तिगत १ रनमा पभेलियनको बाटो देखाईदिएका थिए । यो सँगै जारी प्रतियोगितामा सन्दीपले आफ्नो विकेट सङ्ख्या ५ पुर्याएका छन् ।
यो जितसँगै ४ खेल खेलेको जमैकाले ४ अंकसहित अंकतालिकामा चौथों स्थानमा सुरक्षित रहेको छ । भने ५ खेलबाट ४ अंकनै जोडेको गुयाना तेस्रो स्थानमा रहेको छ ।