घरेलु भूमिमा इंग्ल्यान्डले पाकिस्तानलाई १० वर्षपछि हरायो !

घरेलु भूमिमा इंग्ल्यान्डले पाकिस्तानलाई १० वर्षपछि हरायो !

एजेन्सी । इंग्ल्यान्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज १० बर्षपछि घरेलु मैदानमा जितेको छ ।

तीन खेलको सिरिज अन्तर्गत मंगलबार राति सकिएको सिरिजको अन्तिम तथा निर्णायक खेल बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले एक दशकपछि घरेलु भूमिमा सिरिज जित्न सफल भएको हो । यसअघि इंग्ल्यान्डले सन् २०१० मा पाकिस्तानलाई घरेलु मैदानमा ३-१ ले पराजित गरेको थियो ।

र त्यसको ठिक दश वर्षपछि पाकिस्तानलाई १- ० ले पराजित गरेको छ । यसअघि सिरिजमा इंग्ल्यान्डले पहिलो खेल ३ विकेटले जितेको थियो । भने दोस्रो खेल पनि बराबरी हुन् पुगेको थियो ।

यता मंगलबार फलो अनमा ब्याटिङ गरेको पाकिस्तानले आफ्नो विकेट बचाएपछि खेल बराबरी हुन् पुगेको थियो । जस अन्तर्गत पाकिस्तानले ८३.१ ओभर खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

जसमा बावर आजम ६३ रनमा अविजित रहे भने अविद अलिले ४२ रन तथा कप्तान अजहर अलिले ३१ रन बनाएका थिए ।

बलिङ तर्फ भने इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट हात पारे । यो विकेट सँगै उनी टेस्ट तर्फ ६ सय विकेट लिने चौथो खेलाडी र तिब्र गतिका बलरमा पहिलो खेलाडी बनेका छन् । यस्तै कप्तान रुट र स्टुअर्ट ब्रडले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले पहिलो पारीमा १५४.४ ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ५ सय ८३ रन बनाएको थियो ।

पहिलो पारीमा नै विशाल रन बनाउने क्रममा इंग्ल्यान्डका जक क्रॉलीले सर्वाधिक धेरै रन बनाएका थिए । ३९३ बलको सामना गरेका उनले ३४ चौका र १ छ्क्कासहित २ सय ६७ रनको योगदान गरेका थिए ।

यस्तै विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि १ सय ५२ रनको योगदान गरेपछि इंग्ल्यान्ड पहिलो पारीमानै विशाल रन तर्फ अग्रसर भएको थियो । यी दुई बाहेक क्रिस वोक्सले ४० तथा डोमिनिक बेसले अविजित रहदै २७ रन बनाएका थिए ।

बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी, यासिर शाह र शान मक्सुदले समान २/२ विकेट हात पारेका थिए । भने नशिम शाह र असाद शाफिकले पनि १/१ विकेट लिएका थिए ।

त्यसपछि पाकिस्तानले आफ्नो पहिलो पारीलाई सुरुवात गर्दै ९३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २ सय ७३ रनमा सिमित हुन् पुग्यो ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान अजहर अलिले सर्वाधिक धेरै रन बनाए । अविजित रहेक उनले २७२ बलको सामना गर्दै २१ चौकाको मद्दतमा १ सय ४१ रन बनाए ।

यस्तै विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि अर्धशतकीय पारी खेल्ने क्रममा ५३ रन बनाएका थिए । यी बाहेक फवाद आलमले २१ र यासिर शाहले २० रन जोडे ।

बलिङतर्फ इंग्ल्यान्डका जेम्स एन्डरसन एक्लैले ५ विकेट हात पार्दा स्टुअर्ट ब्रडले २ तथा क्रिस वोक्स र डोमिनिक बेसले पनि १/१ विकेट लिन सफल भए ।

यसरी पहिलो पारीमा पाकिस्तानलाई सस्तैमा समेटेपछि इंग्ल्यान्डले पहिलो पारी भित्र ३ सय १० रनको अग्रता बनाएको थियो । त्यसपछि इंग्ल्यान्डले पाकिस्तानलाई फलो फन दिएको थियो ।

टेस्ट सिरिज सकिएपछि यी दुईले अब ३ खेलको टी- ट्वान्टी सिरिज खेल्ने छन् । पहिलो खेल शुक्रबार हुनेछ ।