क्यानको साधारणसभा भदौंमा नहुने

क्यानको साधारणसभा भदौंमा नहुने

काठमाडौं (अनलाइन खेल खबर )। कोरोना भाइरस(कोभिड -१९)को प्रभावलाई मध्यनजर गर्दै आउँदो भदौको मध्यतिर हुने भनिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा स्थगित हुन् पुगेको छ ।

मंगलबार क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साधारणसभा स्थगित भएको जानकारी गराएको छ ।

अघिल्लो वर्ष असोज ११ गते क्यानले नयाँ कार्यसमिति पाएको थियो । १७ सदस्यीय उक्त कार्यसमितिको नयन निर्वाचनबाट भएको थियो । जहाँ विनयराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले क्यान कार्यसमितिमा निर्वाचित १७ सहित राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) बाट मनोनित २ गरि कुल १९ जना रहेका छन् ।

नयाँ कार्यसमिति चयन भएपछि करिब ४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी ) बाट निलम्बन भएको क्यान सोही वर्ष सर्तसहित फुकुवा भएको थियो ।

लामो समय आईसीसीको निलम्बन फुकुवापछि फर्किएको यस कार्यसमितिसामू धेरैले ठूलो अपेक्षा राखेका थिए ।

तर करिब एक वर्ष बिताईसकेको क्यान त्यो अपेक्षामाथि खरो उत्रिन भने सकिरहेको छैन। यसबीचमा क्यान आन्तरिक झमेला भित्र अल्मलिएको धेरैको गुनासो रहेको छ ।