अष्ट्रेलियन खेलाडी रयान बने सन्दीपको टिम दिल्लीको नयाँ बलिङ प्रशिक्षक
एजेन्सी ।नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध आईपीएल टोली दिल्ली क्यापिटल्सले नयाँ बलिङ प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व खेलाडी रयान हेरिसलाई नियुक्त गरेको छ ।
अष्ट्रेलियन ४० वर्षीय दायाँ हाते तिब्र गतिका बलर रयानलाई दिल्लीले मंगलबार टिममा भित्राएको हो ।
यसअघि बलिङ प्रशिक्षणमा अष्ट्रेलियाकै जेम्स होप्स दिल्लीमा रहेका थिए । उनले सन् २०१८ र २०१९ को संस्करणमा टिमलाई प्रशिक्षण गराएका थिए ।
यसपटक भने उनि पारिवारिक कारण उपस्थिति हुन् नसक्ने बताएपछि उनको स्थानमा अर्का पूर्व अष्ट्रेलियन खेलाडी
रयानलाई बलिङ प्रशिक्षकको रुपमा नियुक्त दिल्लीले गरेको हो ।
रयानले आईपीएल पनि खेलेका छन् । सन् २००९ मा च्याम्पियन बनेको डेक्कन चार्जर्सबाट खेल्दै आईपीएलको सुरुवात गरेका उनले अन्तिमपटक सन् २०१३ मा पन्जावबाट खेलेका थिए ।
यता सन् २०१५ सम्म अष्ट्रेलियन टोलीमा रहेका रयानले अष्ट्रेलियाको तर्फबाट २७ टेस्ट , २१ एकदिवसीय र ३ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
दिल्लीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन भेट्रान रिकि पोन्टिङ रहेका छन् । भने सहायक प्रशिक्षकमा भारतीय खेलाडी मोहम्मद कैफ रहेका छन् ।
यता यस संस्करणको आईपीएल आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ ।
अघिल्लो संस्करणमा दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको दिल्लीलाई यसपटक उपाधि दाबेदार मध्यको एक टोलीको रुपमा हेरिएको छ ।