ब्राभो र पोलाण्डको उत्कृष्ट साझेदारीमा  नाइट राईडर्सले दियो  बार्बाडोसलाई ठूलो चुनौती

ब्राभो र पोलाण्डको उत्कृष्ट साझेदारीमा नाइट राईडर्सले दियो बार्बाडोसलाई ठूलो चुनौती

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) अन्तर्गत प्रतियोगिताको नवौं खेलमा अहिले ट्रिनबागो नाइट राइडर्सले  बार्बाडोस ट्राईडेन्ट्सको सामना गरिरहेको छ ।

ब्रायन लारा क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।

टिमलाई ठूलो योगफलतर्फ पुर्याउन डरेन ब्राभो र कप्तान पोलाण्डबीच १ सय २ रनको साझेदारी हुन् पुगेको थियो । अविजित रहेका दुबैले क्रमश : ५४ र ४१ रन बनाए ।

त्यसअघि कोलिन मुनरोले पनि ५० रनको योगदान गरेका थिए । भने ओपनर ब्याट्सम्यान लेन्डल सिमन्सले २१ तथा सुनिल नारायणले ८ रन जोडेका थिए ।

बलिङतर्फ बार्बाडोसका राशिद खान , एशले नर्स र कप्तान जोसन होल्डरले समान १/१ विकेट लिएका थिए ।

अब नाइट राईडर्सले प्रस्तुत गरेको १ सय ८६ रनको विजयी चुनौतीलाई पछ्याउँदै बार्बाडोसले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

जारी प्रतियोगितामा नाइट राईडर्सले यसअघि दुई खेल खेल्दै दुबैमा जित हासिल गरेको छ । भने बार्बाडोसले २ खेल खेल्दै १ मा जित र १ मा हार ब्यहोरेको छ ।