ब्याटिङ नचल्दा सन्दीपको टिम जमैकाको लगातार दोस्रो हार
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लगातार दोस्रो हार ब्यहोरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोर्ने क्रममा जमैका शनिबार राति गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित हुन् पुगेको छ ।
खेलमा गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभर पूरै ब्याटिङ गरेपनि ७ विकेट गुमाएर १ सय ४ रनमा सिमित हुन पुग्दा गुयानाले जमैकामाथि जित आत्मसाथ गर्यो ।
उसका लागि आन्द्रे रसेलले सर्वाधिक ठूलो योगदान गरेका थिए । टिमलाई जिताउन अन्तिम समयसम्म प्रयासरत रहेका उनले अविजित रहदै ५२ रन बनाएका थिए ।
यस्तै जमैकाका लागि कप्तान रोभम्यान पावेलले २३ तथा आसिफ अलिले १४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोडन नसक्दा टिम दोस्रोपटक स्तब्ध बन्न पुग्यो ।
बलिङतर्फ गुयानाका कप्तान क्रिस ग्रीनले २ तथा नवीन उल हक, अशमेद नेड्ड, इमरान ताहिर, चन्द्रपौल हेमराज र कीमो पॉलले पनि समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुयाना १९.१ ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो ।
झिनो स्कोर बनाउने क्रममा गुयानाले सुरुवात भने राम्रो गरेको थियो । ओपनर ब्याट्सम्यान ब्रान्डन किगं र चन्द्रपौल हेमराजले टिमलाई राम्रो सुरुवात दिलाउने क्रममा ५६ रनको ओपनिङ साझेदारी गरेका थिए ।
तर ५.४ ओभरमा ब्रान्डन मुजीब उर रहमानको बलमा २९ रनमा आउट हुन पुग्दा अर्का महत्वपूर्ण ब्याट्सम्यान शिमरोन हेटमायर सोही ओभरको पाँचौ बलमा शून्य रनमा पभेलियन फर्किएपछि टिम दबाबमा देखिएको थियो ।
त्यसपछि ६.१ ओभरमा टिमको स्कोर ५७ रन हुँदा टिमले अर्का ओपनर चन्द्रपौल हेमराजलाई ब्यक्तिगत २१ रनमा गुमायो । आन्द्रे रसेलको बलमा आउट हुनुअघि उनले १७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
चन्द्रपौल आउट भएपछि गुयानाले विकेट क्रमशः गुमाउँदै गयो । जसमा निकोलस पूरानले ४ रन बनाएर आउट हुन पुग्दा सन्दीप लामिछानेको बलमा शेर्फेन रदरफोर्ड ६ रन बनाएको अवस्थामा आउट हुन पुगे । त्यसपछि कीमो पॉलले ३ रन थप्दा कप्तान क्रिस ग्रीनले मात्र २ रन बनाए । उनलाई पभेलियनको बाटो सन्दीपले देखाई दिएका थिए ।
बीचमा फटाफट विकेट पतन भईरहेको अवस्थामा रस टेलरले इनिङलाई अगाडि बढाउन प्रयास गरे । तर उनि पनि सफल भने हुन् सकेनन् । आठौं विकेटका रुपमा आउट भएका उनले २१ रन बनाए ।
यस्तै अन्त्यतिर नवीन उल हकले १४ रन थपेपछि गुयाना यो योगफलतर्फ पुग्न सफल भयो ।
गुयानाको ब्याटिङ ध्वस्त पार्ने क्रममा बलिङतर्फ जमैकाका मुजीब उर रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट हात पारे । भने सन्दीप लामिछानेले २ विकेट चटकाए । भने एन्द्रे रसेलले पनि १ विकेट लिएका थिए ।
आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका सन्दीपले निकै किफायती बलिङ गर्दै मात्र ८ रन खर्चिएर उक्त दुई विकेट लिएका थिए ।योसँगै जारी प्रतियोगितामा सन्दीपले विकेट सङ्ख्या ४ पुर्याएका छन् ।
यसअघि प्रतियोगितामा जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्सलेसँग ७ विकेटले पराजित हुन् पुगेको थियो ।
यता जमैकामाथि जित हासिल गरेको गुयानाको जारी प्रतियोगितामा यो दोस्रो जित हो । यसअघि गुयाना पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो ।