कुन्दनको सहयोगार्थ कतारमा भएको च्यारिटी खेलमा नेपाली टोलीको सानदार जित

कुन्दनको सहयोगार्थ कतारमा भएको च्यारिटी खेलमा नेपाली टोलीको सानदार जित

काठमाडौं (अनलाइन खेल खबर ) ।  दुबै मिर्गौला फेल भई उपचारार्थ रहेका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतको सहयोगार्थ कतारमा भएको च्यारिटी खेलमा नेपाली टोलीले सानदार जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा नेपाली टोली नेपाल- ११ ले सानदार जित हासिल गर्ने क्रममा भारतीय खेलाडीको बाहुल्यता रहेको अल -इख्तियार -११ लाई १ सय ४४ रनले पराजित गरेको छ ।

खेलमा नेपाली टोलीले प्रस्तुत गरेको २ सय ७१ रनको विशाल विजयी चुनातीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अल इख्तियारले निर्धारित १६ ओभर पूरै खेलेपनि ९ विकेट गुमाएर १ सय २६ रनमा सिमित हुन् पुगेपछि नेपाली टोलीले सानदार जित आत्मसात गरेको हो ।

खेलमा विशाल विजयी चुनौतीलाई पछ्याएको भएपनि अल इख्तियारका लागि खुर्सिद अलिले सर्वाधिक ४५ तथा हुसेनले २१ र सब्रीदले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्न बाध्य भयो।

अल इख्तियारको बलिङ ध्वस्त पार्ने क्रममा नेपाली टोलीका असगर अलिले २ तथा आश मोहम्मद , फिरोज , इन्तेखाब अहमद , सन्जय , सोमन र नजाम शेखले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि कतारस्थित सहेलिया मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित १६ ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर २ सय ७० रन बनाएको थियो ।

उसका लागि दुई खेलाडीले शतकीय पारी खेले । तेस्रो ओभरको चौथों बलमा टिमको स्कोर ४३ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान फिरोजलाई ब्यक्तिगत ९ रनमा गुमाएको नेपाली टोलीले त्यसपछि निकै राम्रो साझेदारी पायो ।

टिमको पारीलाई अन्तिम समयसम्म डोराएका मोख्तार अलिले ५० बलको सामना गर्दै ८ चौका र १२ छ्क्काको सहयोगमा अविजित रहदै १ सय २९ रन बनाएका थिए ।

यस्तै मोख्तारलाई साथ दिएका इन्तेखाब अहमदले पनि ४५ बलको सामना गर्दै ७ चौका र ११ छ्क्काको मद्दतमा अविजित रहदै १ सय ११ रन बनाए । उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।

बलिङतर्फ अल – इख्तियारका जमिलले एक मात्र विकेट हात पारेका थिए ।

कतारमा रहेर क्रिकेट गतिविधिमा क्रियाशिल रहदै आएको नेपाल क्रिकेट क्लबले यो च्यारिटी खेलको आयोजना गरेको थियो ।

हाल मिर्गौलाबाट पिडित कुन्दन सिंहको अवस्था देखेर उनको थप उपचारमा केही सहयोग होस् भन्ने हेतुका साथ सहयोग रकम संकलनका लागि यो च्यारिटी खेल आयोजना भएको थियो ।

अब यसरी संकलित रकम नेपालमा कुन्दन सिंह बचाउँ अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत कुन्दनलाई उक्त संकलित सहयोग रकम प्रदान गरिने क्लबले जानकारी गराएको छ ।