सिपीएलमा सेन्ट लुसियाको पहिलो जित
एजेन्सी । क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा सेन्ट लुसिया जुक्सले पहिलो जित हासिल गरेको छ ।
प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सेन्ट लुसियाले बिहिबार राति वर्षाले प्रभावित बनेको खेलमा डिएलएस मेथडबाट बार्बाडोसलाई ७ विकेटले पराजित गरेको छ ।
व्रायन लारा रंगशालामा भएको खेलमा बार्बाडोस ट्राइडेन्ट्सले टस जितेर पहिले ब्याटिङ गरेको इनिङको १८.१ ओभरमा मैदानमा वर्षात हुन् थालेपछि खेल रोकिएको थियो ।
त्यस क्रममा बार्बाडोसका लागि ओपनर ब्याट्सम्यान जोनसन चार्ल्सले सर्वाधिक ठूलो पारी खेले ।
१९ बलको सामना गरेका उनले ३ चौका र २ छ्क्काको सहयोगमा ३५ रन बनाए । यस्तै कप्तान जोसन होल्डरले पनि २७ रन जोड्दा विकेट किपर ब्याट्सम्यान शाई होपले १९ र एशले नुरसेले १६ रन बनाएका थिए ।
बलिङतर्फ सेन्ट लुसियाका स्कट कुग्लेइजन र रोस्टन चेजले समान २/२ विकेट लिएका थिए । भने मोहम्मद नाबी ,केस्रिक विलियम्स र मार्क डियालले पनि १/१ विकेट हात पारेका थिए ।
त्यसप्रश्चात सेन्ट लुसियाले ५ ओभरमा ४७ रनको विजयी लक्ष्य पाएको थियो । जसअन्तर्गत सेन्ट लुसियाले पाँच बल बाँकी रहदै उक्त लक्ष्यलाई पूरा गरेको थियो ।
टिमलाई पहिलो जित दिलाउँने क्रममा ओपनर ब्याट्सम्यान रहकिम कोर्नवालले १४ रन तथा अर्का ओपनर आन्द्रे फ्लेचरले अविजित रहदै १६ रन बनाएका थिए ।
यस्तै खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका मोहम्मद नाबीले १५ तथा नजीबुल्लाह जाद्रनले ५ रन बनाएका थिए ।
बलिङतर्फ बार्बोडसका रासिद खानले २ तथा रेमन राइफरले १ विकेट लिएका थिए ।
यसअघि सेन्ट लुसिया पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैकासँग ५ विकेटले पराजित भएको थियो
यता सेन्ट लुसियासँग पराजित हुन् पुगेको बार्बोडसको यो पहिलो हार हो । पहिलो खेलमा बार्बोडसले सेन्ट किट्सलाई ६ रनले पराजित गरेको थियो ।