सिपीएलमा नाइट राइडर्सको लगातार दोस्रो जित : सन्दीपको जमैका पराजित
एजेन्सी । क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) अन्तर्गत किरोन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागो नाइट राइडर्सले लगातार दोस्रो जित हासिल गरेको छ ।
शुक्रबार बिहान भएको प्रतियोगिताको छ्ठौं खेलमा नाइट राइडर्सले जित हासिल गर्ने क्रममा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ३६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नाइट राइडर्सले उक्त विजयी चुनौतीलाई १८.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई प्रतियोगितामा लगातार दोस्रो जित दिलाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुनिल नारायणले सर्वाधिक ठूलो पारी खेले । अर्धशतकीय पारी खेलेका उनले सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि ३८ बलको सामना गर्दै ७ चौका र २ छ्क्कासहित ५३ रन बनाएका थिए ।
साथै न्युजिल्यान्डका कोलिन मुनरोले पनि अविजित रह्दै ४९ रन बनाएपछि नाइट राइडर्सले जमैकामाथि सहज जित निकाल्न सफल भयो ।
यस्तै डिजे ब्राबोले १४ तथा पोलार्डले अविजित रहदै रन ५ रन थपेका थिए ।
बलिङततर्फ जमैकाका मुजीब उर रहमान, फिदेल एडवर्ड्स र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए । सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेर ३० रन खर्चिदै एक विकेट हात पारे । योसँगै सन्दीपको जारी प्रतियोगितामा विकेट सङ्ख्या २ पुगेको छ ।
त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जमैका तल्लावाजले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
मध्यम स्कोर बनाउँने क्रममा जमैकालाई ओपनर ब्याट्सम्यान ग्लेन फिलिप्सले सर्वाधिक ठूलो योगदान गरे । जेडेन सिल्सको बलमा डिजे ब्राबोको हातबाट क्याच आउट हुनु अघि उनले ४२ बलको सामना गर्दै ५ चौका र ४ छ्क्कासहित ५८ रन बनाएका थिए ।
यस्तै टिमका लागि एन्द्रे रसेलले २५ रन, असिफ अलिले २२ रन र रमाल लेविसले अविजित रहदै १५ रनको योगदान गरेका थिए
यी वाहेक अन्यले भने निकै निराशाजनक प्रदर्शन गर्न पुग्दा टिम मध्यम स्कोरमा रोकिन बाध्य भएको थियो ।
पहिलो ओभरको दोस्रो बलमा ओपनर ब्याट्सम्यान चाडविक वाल्टनलाई शून्य रनमा गुमाएको जमैकाले २.४ ओभर भित्र १९ रन बनाउँदा आफ्ना तीन महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएको थियो ।
जसमा निकोलस किर्टन पनि शून्य रनमा आउट हुन पुग्दा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका कप्तान रोभम्यान पावेलले मात्र ८ रन जोडेका थिए ।
बलिङतर्फ ट्रिनबागो नाइट राइडर्सका अलि खान र जेडेन सिल्सले समान २/२ विकेट लिएका थिए । यस्तै सुनिल नारायण , डिजे ब्राबो र फवाद अहमदले पनि १/१ विकेट हात पारेका थिए ।
यसअघि पहिलो खेलमा नाइट राइडर्सले गुयनालाई ४ विकेटले पराजित गरेको थियो । भने नाइट राइडर्ससँग पराजित हुन् पुगेको जमैकाले सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो ।