
अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपालीबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग
काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई डायलोसिसको साहारामा रहेका क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतलाई अष्ट्रेलियास्थित मेलबर्नमा रहेका नेपालीहरुले ठूलो आर्थिक सहयोग गरेका छन् ।
पूर्व खेलाडी यशवन्त सुवेदीको संयोजकत्वमा अष्ट्रेलियामा संकलित १ लाख ८९ हजार २ सय ८० नेपाली रुपैयाँ प्रदेश २ क्रिकेट संघमार्फत उनलाई सहयोग गरिएको हो ।
संघका सचिव आयुश श्रेष्ठका अनुसार अष्ट्रेलियाबाट संकलित रकम संघको खातामा प्राप्त भएको थियो । अब सो रकम कुन्दनलाई प्रदान गरिने छ ।
यसअघि अघिल्लो महिनामा प्रदेश २ क्रिकेट संघले १ लाख सहयोग उनलाई गरिसकेको छ ।
यस्तै उनलाई अहिले विभिन्न माध्यमबाट सहयोग गर्ने क्रम जारी रहेको छ । जसमध्य जनकपुरका युवा भवेश मिश्रको समूहले संकलन गरेको ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ कुन्दनलाई प्रदान गरिसकिएको छ ।
भने अर्कोतर्फ युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत पनि सहयोग रकम संकलित भईरहेको छ । अहिलेसम्म उनले पनि करिव ३ लाख जति सहयोग रकम उठाईसकेका छन् ।
करिब १० महिना अघि दुबै मिर्गौला फेल भएका कुन्दनले अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलोसिस गर्दै आएका छन् ।
यसबीचमा उनि कोरोना भाइरस ( कोभिड-१९ ) बाट पनि सक्रमित हुन् पुगेका थिए। तर अहिले उनि भाइरसलाई जितेर महोत्तरीस्थित जलेश्वर फर्किसकेका छन् ।