दिल्लीले एक अफ्रिकन खेलाडीलाई टिममा भित्राउँदा सन्दीपलाई थप सहज
काठमाडौंं (अनलाइन खेल खबर) । सेप्टेम्बर १९ देखि युएईमा हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सले एक नयाँ विदेशी खेलाडीलाई टिममा भित्राएको छ ।
इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले यस संस्करणको आईपीएल नखेल्ने भन्दै पछि हटेपछि दिल्ली नयाँ विदेशी खेलाडीको खोजीमा रहेको थियो ।
त्यस क्रममा उसको नजर दक्षिण अफ्रिकाका दायाँ हाते तीब्र गतिका बलर एनरिच नोर्टजेमाथि परेको छ । जसअन्तर्गत वोक्सको ठाउँमा उनलाई केहि दिनअघि टिममा भित्राएको छ ।
सन् २०१९ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले यसबीचमा दक्षिण अफ्रिकाबाट ६ टेष्ट , ७ एकदिवसीय र ३ अन्तर्राष्ट्रिय टी- ट्वान्टी खेलेका छन् ।
आईपीएलको हकमा दिल्लीमा आउनु अघि उनि अघिल्लो वर्ष कोलकतामा अनुबन्धित भएका थिए तर उनी चोटका कारण कुनै खेलपनि खेल्न पाएका थिएनन् ।
यता दक्षिण अफ्रिकी खेलाडी एनरिच नोर्टजेको आगमनसँगै सन्दीपलाई केही सहज देखिएको छ । वोक्स भएको भए सन्दीपलाई अन्तिम ११ मा पर्न थप ठूलो कसरत गर्नु पर्ने देखिन्थ्यो ।
आईपीएलको प्रावधान अनुसार एक खेलमा कम्तिमा ४ विदेशी खेलाडीलाई खेलाउन सकिनेछ । यसपटक दिल्लीले विदेशी खेलाडीको हकमा कन्जुस्याइँ गरेको छैन ।
दिल्लीमा यसपटक विदेशी खेलाडीको रुपमा ब्याट्सम्यानतर्फ जोसन रोय र वेस्ट इन्डिजका सिमरोन हेटमायर रहेका छन् । जसरी पछिल्लो समय रोयले प्रदर्शन गरिरहेका छन् त्यसैको आधारमा रोयको स्थान पक्का रहेको छ । यसका साथै सिमरोनको पनि सम्भावना प्रबलनै रहेको छ ।
यसपछि ब्याटिङ अलराउन्डर अष्ट्रेलियन खेलाडी मार्कस स्टोनिस पनि स्थान बनाउँन सक्ने खेलाडीमा पर्छन् ।
प्रारम्भिक रुपमा हेर्दा अब एक स्थानका लागि अझै खुल्ला देखिन्छ । त्यसका लागि बलिङ अलराउन्डर वेस्ट इन्डिजका किमो पल देखि दक्षिण अफ्रिकाका अनुभवी खेलाडी कगिसो रबाडा र सन्दीप लामिछानेबीच कडा प्रतिष्पर्दा हुने देखिएको छ ।
दिल्लीसँग विदेशी खेलाडीमा राम्रो राम्रो विकल्प भएको हुँदा सन्दीपलाई पूरा लिग भरी खेल्न निकै गार्हो छ । अझ उनको आईपीएल यात्रालाई निर्धारण अहिले जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) को प्रदर्शनले पनि गर्नेछ ।