
अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीहरु आईपीएलमा सुरुवातबाटै खेल्ने
एजेन्सी । युएईमा आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा इंग्ल्यान्ड र अष्ट्रेलियाका खेलाडीहरु सुरुवाती अवस्थाबाटै खेल्न सक्ने भएका छन् ।
आईपीएल अघि यी दुईबीच एकदिवसीय र टी- ट्वान्टी सिरिज रहेको छ । जो सेप्टेम्बर ४ देखि १६ तारिखसम्म चल्नेछ । त्यसपछि उनिहरु सिधा युएई प्रस्थान गर्नेछन् ।
यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बिसीसीआई )ले खेलाडीले कम्तिमा सात दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको थियो । त्यसका कारण यी दुई टिमका खेलाडीहरुले सुरुवाती खेलहरु गुमाउने थिए ।
आईपीएलको फेन्चाइज टिम मध्यको एक रोयल च्यालेन्जर्स बेङ्गलोरका अध्यक्ष संजीव चुरीवालाका अनुसार अब यी दुई टिमका खेलाडीहरु सुरुवाती अवस्थाबाटै खेल्ने छन् ।
त्यसका लागि बिसीसीआईले अहिले आफ्नो पूर्व निर्धारित नियममा खुकुलो हुने सोच बनाईरहेको समेत उनले खुलसा गरेका छन् ।
आईपीएलमा यी दुई राष्ट्रका खेलाडीको प्रभाव र उपस्थिति बाक्लो स्तरमा रहेको छ । सबै ८ फेन्चाईज टिममा यी दुई टिमका खेलाडीको उत्तिकै प्रभाव हुने गर्छ । हालसम्म यस संस्करणमा यी दुई राष्ट्रबाट २९ जना खेलाडीले सहभागिता जनाउँदै छन् ।
यता आईपीएल अघि हुन् गईरहेको यस सिरिजमा तीन टी-ट्वान्टी र तीन एकदिवसीय खेल हुनेछ ।
जसअन्तर्गत सुरुमा टी-ट्वान्टी हुनेछ । जसमा पहिलो खेल सेप्टेम्बर ४ तारिखमा , दोस्रो खेल ६ तारिखमा र तेस्रो तथा अन्तिम खेल ८ तारिखमा हुनेछ ।
त्यसपछि एकदिवसीय खेल हुनेछ । विश्वकप छनोट अन्तर्गतको सुपर लिग अन्तर्गतको यस एकदिवसीय सिरिजको पहिलो खेल सेप्टेम्बर ११ तारिखमा , दोस्रो खेल १३ तारिखमा र १६ तारिखमा अन्तिम खेल हुनेछ ।