सिपीएलमा गुयनाको विजयी सुरुवात
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) को चौथों खेलमा गुयना एमेजन वारियर्स विजयी भएको छ ।
बिहिबार बिहान भएको खेलमा गुयनाले जित हासिल गर्ने क्रममा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो ।
खेलमा सेन्ट किट्सले प्रस्तुत गरेको १ सय २८ रनको सामान्य लक्ष्यलाई गुयनाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
ब्याटिङमा उसका लागि शिमरोन हेटमेयरको प्रदर्शन अदभूत रहयो । टिमलाई जिताउन ठूलो योगदान गरेका उनले ४४ बलको सामना गर्दै ८ चौका र ३ छ्क्काको मद्धतमा ७१ रनको योगदान गरेका थिए ।
सामान्य स्कोर पछ्याएको भएपनि गुयनाका लागि हेटमेयरबाहेक अन्यले भने निकै खराब प्रदर्शन गरे । जसमा चन्द्रपौल हेमराजले १९ रन तथा ब्रान्डन किङले र शेर्फान रदरफोर्डले समान १०/१० रन बनाएका थिए ।
बलिङतर्फ सेन्ट किट्सका रायद इम्रीटले सर्वाधिक ३ तथा डोमिनिक ड्रक्स र शेल्डन कोटरेलले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि ब्रायन लारा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
सामान्य योगफल खडा गर्ने क्रममा सेन्ट किट्सका लागि ओपनर ब्याट्सम्यान एभिन लुइसले ३० तथा बेन डन्कले २९ रनको योगदान गरेका थिए ।
यस्तै कप्तान रायद इम्रीटले १७ र क्रिस लिनले १६ रन बनाउँदा बाँकी खेलाडीले निराशाजनक प्रदर्शन गर्दा टिमले सामान्य योगफलमै चित्त बुझाउन बाध्य भयो ।
बलिङतर्फ गुयनाका कीमो पलले सर्वाधिक ४ विकेट लिए । भने इमरान ताहिरले २ तथा क्रिस ग्रीनले १ विकेट लिएका थिए ।
अब प्रतियोगिताको पाँचौ खेलमा आज राति सेन्ट लुसिया र बार्बाडोस ट्राइडेन्ट्स भिड्ने छन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेपछि सुरु हुनेछ ।