सन्दीपको टिम जमैकाको विजयी सुरुवात
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा विजयी सुरुवात भएको छ ।
बुधबार भएको प्रतियोगिताको तेस्रो तथा टिमको पहिलो खेलमा जमैकाले ५ विकेटले जित हासिल गर्ने क्रममा सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी चुनौतीलाई उसले १८.५ ओभरमा मात्र ५ विकेट गुमाएर भेटाएको थियो ।
खेलमा मध्यम लक्ष्य पछ्याएको भएपनि जमैकाको सुरुवात भने त्यति सन्तोषजनक हुन् सकेन । त्यस क्रममा टिमले ४.१ ओभर भित्र १३ रन बनाएको अवस्थामा आफ्ना दुई महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो ।
जस अन्तर्गत चाडविक वाल्टनले २ रन र निकोलस किर्टनले १ रन बनाएर आउट हुन् पुगेका थिए । सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछि टिमको पारीलाई विकेट किपर ओपनर ब्याट्सम्यान ग्लेन फिलिप्स र कप्तान रोभम्यान पावेलले अगाडि बढाएका थिए ।
यी दुई ब्याट्सम्यानबीच तेस्रो विकेटका लागि ६३ रनको साझेदारी हुन् पुगेको थियो । ९.३ ओभरमा टिमको स्कोर ७६ रन हुँदा तेस्रो विकेटको रुपमा पभेलियन फर्किएका रोभम्यानले २६ रन बनाउँदा ग्लेन फिलिप्सले ४४ रनको योगदान गरे ।
टिमलाई सहज स्थितिमा पुर्याउने क्रममा उनले २९ बलको सामना ३ चौका र ३ छ्क्कासहित उक्त रन बनाएका थिए ।
त्यसपछि असिफ अलि र कार्लोस ब्रेथवेटले टिमलाई जिततर्फ पुर्याए । अविजित रहेका असिफ र ब्रेथवेटले क्रमशः ४७ र १८ रनको योगदान गरेपछि सेन्ट लुसिया पहिलो खेलमै स्तब्ध हुन पुग्यो ।
बलिङतर्फ सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट तथा स्कट कुग्लेइजन , ओबेड म्याकोयो र रहकिमले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
टिमले उक्त स्कोर बनाउने क्रममा दोस्रो ओभरको अन्तिम बलमा टिमको स्कोर १५ रन हुँदा पहिलो विकेटका रुपमा टिमले ओपनर ब्याट्सम्यान रहकिम कोर्नवाललाई गुमाएको थियो। वीरसम्मी परमौलको बलमा क्याच आउट हुनुअघि उनले ९ बलको सामना गर्दै २ चौकासहित ९ रन बनाएका थिए ।
त्यसपछि सेन्ट लुसियाले ३.६ ओभरमा टिमको स्कोर ४० रन हुँदा दोस्रो विकेटका रुपमा मार्क डियाललाई गुमाएको थियो । परमौलकै बलमा क्याच आउट हुन पुगेका उनले ६ बलको सामना गर्दै १ चौका र २ छ्क्काको सहयोगमा १७ रन बनाएका थिए ।
मार्क आउट भएपछि विकेट किपर ब्याट्सम्यान आन्द्रे फ्लेचर २२ रन बनाएर पभेलियन फर्किए । उनलाई एन्द्रे रसेलले पभेलियनको बाटो देखाईदिएका थिए ।
त्यसपछि भने रोस्टन चेज र नजीबुल्लाह जाद्रानले टिमको पारीलाई अगाडी बढाउँन राम्रो साझेदारी गरे । यी दुईबीच चौथों विकेटका लागि ५२ रनको साझेदारी हुन् पुगेको थियो ।
तर १४.२ ओभरमा जाद्रान सन्दीप लामिछानेको बलमा क्याच आउट हुन पुगे । २१ बलको सामना गरेका उनले १ चौका र १ छ्क्कासहित २५ रन जोडे । यस्तै रोस्टन चेजले भने इनिङको सर्वाधिक धेरै रन बनाउने क्रममा ५२ रनको योगदान गरे । यस्तै मोहम्मद नाबिले पनि १३ रन बनाएका थिए ।
बलिङतर्फ जमैकाका लागि वीरसम्मी परमौल र मुजिव उल रहमानले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र एन्द्रे रसेलले पनि १-१ विकेट हात पारे । सन्दीपले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै मात्र २३ रन खर्चिएर उक्त विकेट हात पारेका थिए।
अब प्रतियोगिता अन्तर्गत चौथो खेलमा बिहिबार सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले गुयना एमेजन वारियर्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान सवा ३ बजेपछि सुरु हुनेछ ।