सिपीएलमा जमैकाले आज पहिलो खेल खेल्दै : सन्दीप खेल्ने प्रबल सम्भावना
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा आज नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले पहिलो खेल खेल्दैछ ।
सेन्ट लुसियासँग हुने उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ । यसपटक सन्तुलितमा देखिएको जमैकाले प्रतियोगितामा पनि सुखद सुरुवात गर्न चाहन्छ ।
२ पटकको च्याम्पियन समेत रहेको जमैकाले अघिल्लो संस्करणमा भने खराब प्रदर्शन गर्दै ६ टिम मध्य अन्तिम स्थानमा रहदै लिगको समाप्त गरेको थियो । उसले कुल १० खेलमा मात्र २ खेलमा मात्र जित हासिल गरेको थियो ।
अघिल्लो संस्करणको नतिजाका कारण पनि हुन सक्छ । यसपटक भने जमैका आमूल परिवर्तन सहित सिजनमा अघि बढने रणनीतिमा रहेको छ ।
यसपटक टिम राम्रो देखिएको भएपनि त्यसको मापन पहिलो खेलबाटै हुनेछ । जमैकासँग अहिले खेललाई एक्लैले जिताउन सक्ने क्षमता राख्ने अलराउन्डर रहेका छन् । आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र पाकिस्तानका आसिफ अलीप्रती टिमको ठूलो आशा रहेको छ ।
यस्तै टिमका शीर्ष क्रमका ब्याट्सम्यान र बलिङ पक्ष पनि उत्तिकै राम्रो देखिएको छ । जमैकासँग स्पिन , मध्य र तिब्र गरि तिनै पक्षका गतिला बलरहरु छन् । जसमा टिमले पूर्ण आशा पनि गरेको छ ।
यता आजको खेलमा सन्दीपले स्थान बनाउँनेमा सम्भावना प्रबल रहेको छ । कोरोना भाइरस (कोभिड-१९ ) ले गर्दा केही महिना मैदान बाहिर रहेका सन्दीपका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण रहेको छ ।
सिपीएलमा सन्दीप योसँगै तेस्रो सिजन खेल्दैछन् । उनले पहिलो सिजन सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र दोस्रो सिजन बार्बाडोसबाट खेलेका थिए ।