सुनिल नारायणले अर्धशतकीय पारी खेलेपछि ट्रिनबागोको विजयी सुरुवात
एजेन्सी । सुनिल नारायणले अर्धशतकीय पारी खेलेपछि क्यारेबियन प्रिमियर लिग (सिपीएल )को उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ ।
प्रतियोगितामा पहिलो खेलमै जित हासिल गर्ने क्रममा ट्रिनबागो नाइट राइडर्सले गुयना एमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा खेललाई वर्षाले प्रभावित गरेपछि खेल १७ ओभरमा छोटाईएको थियो । जसमा गुयनाले प्रस्तुत गरेको १ सय ४५ रनको विजयी चुनौतीलाई ट्रिनबागोले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई प्रतियोगितामा विजयी सुरुवात दिलाउने क्रममा ओपनर ब्याट्सम्यान सुनिल नारायणले सर्वाधिक ठूलो योगदान गरे । अर्धशतक बनाएका उनले २८ बलको सामना गर्दै २ चौका र ४ छ्क्कासहित ५० रन बनाएका थिए ।
यस्तै टिमका लागि डरेन ब्राभोले ३० तथा ओपनर ब्याट्सम्यान लेन्डल सिमन्स र कोलिन मुनरोले पनि समान १७/१७ रन जोडेपछि ट्रिनबागोले जित आत्मसाथ गरेको थियो ।
बलिङतर्फ गुयनाका लागि इमरान ताहिर र नवीन उल हकले समान २-२ विकेट लिए । भने कीमो पॉल र रोमारियो शेफर्डले पनि १/१ विकेट हात पारेका थिए ।
त्यसअघि ब्रायन लारा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुयनाले निर्धारित १७ ओभर पुरै ब्याटिङ गर्दै मात्र ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शिमरोन हेटमाइरले सर्वाधिक ठूलो पारी खेलेका थिए । अविजित रहेका उनले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ४४ बलको सामना गर्दै २ चौका र २ छ्क्काको मद्धतमा ६३ रनको योगदान गरेका थिए ।
यस्तै टिमका लागि रस टेलरले ३३ तथा निकोलस पूरानले १८ रन र कीमो पॉलले अविजित रहदै १५ रनको योगदान गरेका थिए ।
बलिङतर्फ ट्रिनबागोका लागि सुनिल नारायणले २ तथा अलि खान , डिजे ब्राभो र जेडेन सिलेसले समान १/१ विकेट लिएका थिए ।