सिपीएल आजदेखि: सन्दीपको खेल बुधबारबाट
एजेन्सी । वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) को आठौं संस्करण आज मंगलबारबाट सुरु हुँदैछ ।
जसअन्तर्गत लिगको पहिलो खेलमा आज किरोन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागो नाइट राइडर्सले गत संस्करणको उप – विजेता गुयाना अमेजन वारियर्सको सामना गर्नेछ । जसको कप्तान निकोलस पूरण रहेका छन् ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि ब्राइन लारा रंगशालामा हुनेछ ।
सेप्टेम्बर ११ सम्म चल्ने लिगमा यसपटक पनि ६ वटा फेन्चाइज टिमको सहभागिता रहने छ । जसमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स,बार्बाडोस ट्राइडेन्ट्स, जमैका तलावाज , गुयना एमेजन वारियर्स , सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स रहेका छन् ।
यता नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले लिगमा बुधबारबाट सुरुवात गर्नेछ । लिगको पहिलो खेलमा जमैकाले सेन्ट लुसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।
लगातार तेस्रो सिरिज खेल्ने तयारीमा रहेका सन्दीपलाई जमैकाले ड्राफ्टकामार्फत न्युनतम मूल्य ९० हजार अमेरिकन डलरमा टिममा अनुबन्धित गरेको थियो ।
यसअघि सन्दीपले सन् २०१८ मा पहिलोपटक सिपीएल खेलेका थिए । उनलाई सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसमा उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।
पहिलो सिजन सेन्ट किट्सबाट खेलेका उनि दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनलाई बार्बाडोसले ७० हजार अमेरिकन डलर तिरेको थियो । जसमा उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए ।
सिपीएल खेलेपछि सन्दीपको गन्तव्य युएई हुनेछ । सेप्टेम्बर १९ बाट सुरु हुन् गईरहेको इन्डियन प्रिमियर लिग (आईपीएल ) का लागि उनि उत्तैबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।