प्रदेश २ भित्र रहेका सम्पूर्ण क्रिकेट खेलाडीको कोरोना बीमा गरिने
काठमाडौं (अनलाइन खेल खबर ) । प्रदेश २ क्रिकेट संघले आफ्नो प्रदेश भित्र रहेका सम्पूर्ण महिला र पुरुष खेलाडीको कोरोना भाइरस ( कोभिड-१९ ) को बीमा गराउने भएको छ ।
शनिबार अनलाइनमार्फत बसेको संघको बैठकमार्फत हाल ठूलो स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै खेलाडीको बीमा गर्ने संघले निर्णय गरेको हो ।
यसका साथै उक्त बैठकमार्फत संघले अवस्था सामान्य भई यातायात संचालनमा आएपछि प्रदेश स्तरीय ओ लेभलको अम्पायरिङ,स्कोरिङ तालिमको आयोजना गर्ने पनि निर्णय गरेको छ। त्यसका लागि सप्तरी क्रिकेट संघलाई जिम्वेवारी दिइएको छ।
भने प्रदेश भित्र न्युन आय भएका तथा कोरोना भाइरसका कारणले गर्दा जिविकोपार्जन गर्न कठिनाई भईरहेको खेलाडीहरुलाई राहत प्रदान गर्न संघले नामावली संकलन पनि गर्ने भएको छ ।
संघका सचिव आयुश श्रेष्ठका अनुसार त्यसका लागि प्रदेशका सदस्य सुभाष जयसवाललाई जिम्मेवारी सुम्पिएको छ ।
यस्तै दुवै मिर्गौला फेल भई अहिले डाईलासिसको साहारामा रहेका क्रिकेटर कुन्दन सिंहलाई मिर्गौला प्रत्यारोपण गर्न दाता प्राप्त भएको खण्डमा थप सहयोग गर्न संघले पहल गर्ने पनि निर्णय गरेको छ । यसअघि संघले उनको उपचारका लागि नगद १ लाख प्रदान गरेको थियो ।
बैठकमा संघका अध्यक्ष हिरा भगतसहित नेपाल क्रिकेट संघ ( क्यान ) का कोषाध्यक्ष एवम् प्रदेश सदस्य रोशन सिंह, क्यानका केन्द्रिय सदस्य माधव कर्मचार्य र दाउद अन्सारी लगायतको सहभागिता रहेको थियो ।