रंगशाला निर्माण कार्यमा खटिएका कामदारहरुलाई पुरस्कार वितरण
काठमाडौं (अनलाइन खेलखबर )। धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गर्ने कामदारहरुलाई फाउन्डेसनले नगदसहित सोमबार बिहान पुरस्कार वितरण गरेको छ ।
अहिले निर्माणकार्य तिब्र गतिमा चल्दै गर्दा निर्माण परियोजनामा दिनरात नभनी लागि परेका आफ्ना कामदारहरुको आत्मबल बढाउन तथा प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिएका छन् ।
कोरोना भाइरस ( कोभिड -१९ ) ले गर्दा चैत्र ९ गतेबाट निर्माणकार्य रोकिएको भएपनि भाइरसको सुरक्षा नितिलाई ख्यालमा राख्दै अर्को महिनाको बैशाख २० गतेबाट पुन : निर्माणकार्यले निरन्तरता पाएको छ । अहिले राष्ट्रको गौरवको परियोजना समेत रहेको यस रंगशाला निर्माणमा १ सय ५१ जना भन्दा बढी जनशक्ति दिनरात खटि रहेका छन् ।
पछिल्लो स्थितिमा रंगशालाको मुख्य मैदानको काम लगभग ८५ प्रतिशत सकिएको छ । जसमा सात मुख्य पिच छन् । अब पिचमा माटो हाल्न र आउट फिल्ड सम्माउन मात्र बाँकी छ । अहिले वर्षातको समय भएको हुँदा त्यो रोकिएको हो । वर्षातको समय सकिने वित्तिकै पिचमा माटो हाल्ने र आउट फिल्ड सम्माउने काम हुनेछ ।
पिचका लागि आवस्यक पर्ने सबै सामाग्रीहरु भने तयारी अवस्थामा छ । माटो पनि पिटेर राखिएको छ । अहिले मैदान बाहिरका कामहरु भईरहेका छन् । दर्शकहरु बस्ने प्याराफिट बन्ने क्रममा रहेको छ । प्याराफिटको जग ढलान अहिले भईरहेको छ । जसको काम लगभग ४० प्रतिशत सकिसकिएको छ । अब यहि किसिमले निर्माणकार्य अघि बढेको खण्डमा करिब १८ महिना भित्रमा रंगशाला बनि सक्ने धुर्मुसले जानकारी गराएका छन् ।