एडिलेड नेप्लिज क्रिकेट एसोसियसनबाट कुन्दनलाई ठूलो सहयोग प्राप्त
काठमाडौं ( अनलाइन खेल खबर ) । अष्ट्रेलियामा रहेको एडिलेड नेप्लिज क्रिकेट एसोसियसन ( एएनसीए ) ले मिर्गौला पिडित क्रिकेट खेलाडी कुन्दन सिंहलाई ९४ हजार रुपैयाँ सहयोग गरेको छ ।
अष्ट्रेलियामा रहेर क्रिकेट विकासमा क्रियाशील रहदै आएको यस एएनसीएले अहिले कुन्दन सिंह बचाउँ अभियान चलाई रहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत उनलाई सहयोग गरेको हो ।
एएनसीएले अष्ट्रेलियामा रहेका आफ्ना क्रिकेट खेलाडी तथा सदस्यहरुबाट उक्त रकम संकलन गरेको थियो । सुनम गौतमको संयोजकत्वमा भएको उक्त सहयोग अभियानमा नेपालको यू-१६ बाट प्रतिनिधित्व गरिसकेका आशिष पोख्रेल , यू -१९ बाट खेलिसकेका प्रमोद मान सिंह , काठमाडौंबाट खेलेका दिपक क्षेत्री,एएनसीएका अध्यक्ष विजय जोशी लगायतको साथ र सहयोग रहेको थियो ।
दुवै मिर्गौला फेल भएर डायलोसिसको साहारामा रहेका कुन्दनको पारिवारिक स्थितिलाई मध्यनजर गर्दै आर्थिक अभावकै कारण उनको थप उपचारमा कठिनाई नहोस् भनेर अहिले सहयोगी मनहरुले उनलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
अभियान जारी रहँदै गर्दा अहिलेसम्म कार्कीको अभियानमार्फत करिव तीन लाख सहयोग रकम संकलन भईसकेको छ । यसबीचमा केहि दिन अघि जनकपुरका युवा भवेश मिश्रको समूहले संकलन गरेको ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ कुन्दनलाई प्रदान गरिसकिएको छ । यी वाहेक प्रदेश नम्बर २ क्रिकेटले पनि सुरुमै कुन्दनलाई १ लाख नगद सहयोग गरेको थियो ।
यो पनि – प्लिज मलाई बचाउँनुहोस् !