पाकिस्तानविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी
एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको छ ।
शनिबार पाहुना टोली पाकिस्तानले प्रस्तुत गरेको २ सय ७७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले उक्त चुनौतीलाई ८०.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
सिरिजको पहिलो खेलमा टिमलाई जिताउँने क्रममा इंग्ल्यान्डका क्रिस वोक्स र जस बटलरको जोडीले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । छठौ विकेटका लागि यी दुईबीच १ सय ३९ रनको साझेदारी हुन् पुगेको थियो । ७७.५ ओभरमा टिमको स्कोर २ सय ५६ रन हुँदा यासिर शाहको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका बटलरले ७५ रन बनाएका थिए । भने वोक्स ८४ रनमा अविजित रहे । यसका साथै कप्तान जो रुटले ४२ रन तथा डेमिनिक सिब्लेले पनि ३६ रनको योगदान गरेपछि इंग्ल्यान्डले सिरिजको पहिलो खेल आफ्नो नाममा लेखाउन सफल भयो ।
बलिङतर्फ पाकिस्तानका यासिर शाहले ४ तथा शाहीन अफरीदी,मोहम्मद अब्बास र नसिम शाहले पनि समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि एमिरेट्स ओल्ड ट्र्याफर्ड, म्यानचेस्टरमा बुधबारबाट सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले आफ्नो पहिलो पारीमा १०९.३ ओभर खेल्दै आफ्नो सबै विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । उसका लागि ओपनर ब्याट्सम्यान शान मसूदले सानदार ब्याटिङ गरेका थिए । सानदार ब्याटिङ गर्ने क्रममा उनले ३ सय १९ बलको सामना गर्दै १८ चौका र २ छक्कासहित १ सय ५६ रनको योगदान गरेका थिए । यस्तै टिमका लागि बाबर आजमले ६९ र शादब खानले ४५ रनको योगदान गरेका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका स्टुअर्ट ब्रॉड र जोफ्रा आर्चरले समान ३/३ विकेट हात पारेका थिए । भने क्रिस वोक्सले २ तथा जेम्स एंडरसन र डोमिनिक बेसले पनि १/१ विकेट लिएका थिए ।
पाकिस्तानले पहिलो पारीमा राम्रो स्कोर बनाएपछि ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा ७०.३ ओभर भित्र आफ्नो सबै विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । इंग्ल्यान्डले उक्त स्कोर बनाउँने क्रममा ओली पोपले सर्वाधिक ६२ रनको योगदान गरेका थिए ।भने जोस बटलरले ३८ र स्टुअर्ट ब्रॉडले अविजित रहदै २९ रन जोड्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा इंग्ल्यान्ड पहिलो पारीको समाप्तसम्ममा १ सय ७ रनले पछि परेको थियो ।
इंग्ल्यान्डको पहिलो पारीमा ब्याटिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका यासिर शाह एक्लैले ४ विकेट चट्काएका थिए । भने मोहमम्द अब्बास र शादब खानले २/२ विकेट लिंदा शाहीन अफरीदी र नसिम शाहले पनि १/१ विकेट लिएका थिए ।
पहिलो पारीसम्ममा १ सय ७ रनको अग्रता बनाएको पाकिस्तानले आफ्नो दोस्रो पारीमा ४६.४ ओभरमा अलआउट हुँदै १ सय ६९ रन थपेपछि घरेलु टोली इंग्ल्यान्डले २ सय ७७ रनको विजयी चुनौती प्राप्त गरेको थियो । दोस्रो पारीमा पाकिस्तानको ब्याटिङ चलेन । यासिर शाहले बनाएको ३३ रन इनिङको सर्वाधिक उच्च रन हुन् पुग्यो । यस्तै साफीकले २९ रन र रिजवानले २७ रन जोड्नु बाहेक अन्य खेलाडीबाट निराशाजनक प्रदर्शन हुन् पुग्दा इंग्ल्यान्डलाई सहज चुनौती प्राप्त भएको थियो ।
दोस्रो पारीमा पाकिस्तानको ब्याटिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका स्टुअर्ट ब्रॉडले ३ तथा बेन स्टोक्स र क्रिस वोक्सले समान २/२ विकेट हात पार्दा जोफ्रा आर्चर र डोमिनिक बेसले पनि १/१ विकेट लिएका थिए ।
अब सिरिजको दोस्रो खेल आउँदो बिहिबारबाट सुरु हुनेछ । टेष्ट सिरिज पछि यी दुईबीच तीन खेलको टी-ट्वान्टी सिरिज पनि हुने खेल तालिका रहेको छ ।