आयरल्यान्डमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित
एजेन्सी । आयरल्यान्ड र इंग्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत घरेलु टोली इंग्ल्यान्डले लगातार दोस्रो जित हासिल गर्ने क्रममा आयरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्डले सिरिजमा २-० ले अग्रता बनाएको छ ।
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गतको सुपर लिगको यस खेलमा जित निकाल्दै इंग्ल्यान्डले अहिले २ खेलबाट अंकतालिकामा २० अंक जोडेको छ ।
शनिबार राति भएको खेलमा पाहुना टोली आयरल्यान्डले प्रस्तुत गरेको २ सय १३ रनको विजयी चुनौतीलाई इंग्ल्यान्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
खेलमा ओपनर ब्याट्सम्यान जसन रोयलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा गुमाएको भएपनि इंग्ल्यान्डका जोनी बेयरस्टोले राम्रो पारी खेल्दै टिमलाई जिततर्फ पुर्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच समेत बनेका बेयरस्टोले सर्वाधिक धेरै रन बनाउँने क्रममा ८२ रनको योगदान गरेका थिए ।४१ बलको सामना गरेका उनले १४ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।
यस्तै टिमका लागि डेभिड विले र साम बिलिन्सले अविजित रह्दै क्रमशः ४७ र ४६ रन जोडेपछि इंग्ल्यान्डले जित आत्मसाथ गर्न सफल भयो ।
बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिलले ३ तथा कर्टिस क्याम्फरले २ र क्र्याग यंगले १ विकेट लिएका थिए ।
त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय १२ रन बनाउँन सफल भएको थियो ।
पाँचौ ओभरको चौथों बलमा टिमको स्कोर १२ रन हुँदा पहिलो विकेटको रुपमा ग्यारेथ डेलनीलाई आयरल्यान्डले शुन्य रनमा गुमाएको थियो ।
त्यसपछि लगत्तै आयरल्यान्डले अर्का ओपनर ब्याट्सम्यान पल स्टर्लिङलाई १२ रनमा गुमाएपछि टिम सुरुवाती अवस्था देखिनै दबाबमा आएको थियो ।
ओपनर ब्याट्सलाई सस्तैमा गुमाएको आयरल्यान्डको त्यसपछि पनि विकेट पतन रोकिएन त्यस क्रममा कप्तान एन्ड्र्यू बलबर्नीले १५ रन , केभिन ओ ब्रायनले ३ रन ,ह्यारी टेक्टरले २८ रन तथा लोर्कान टकरले २१ रन बनाएर पभेलियन फर्किदा सिमी सिंहले २५ रनको योगदान गरे ।
सिंह आउट भएपछि टिमलाई सम्हालेका कर्टिस कैम्फर ६८ रन बनाएर आउट हुन् पुगे । ८७ बलको सामना गरेका उनले उक्त रन बनाउँने क्रममा ८ चौका प्रहार गरेका थिए । अत्यतिर एन्डी म्याकब्राइनले २४ जोडेपछि आयरल्यान्ड यो योगफलतर्फ पुग्न सफल भएको हो ।
बलिङतर्फ इंग्ल्यान्डका आदील राशिदले सर्वाधिक ३ तथा साकिब महमूद र डेविड विलीले समान २-२ विकेट लिए भने रीस टॉप्ली र जेम्स विन्सले पनि १-१ विकेट हात पारेका थिए ।
यसअघि सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो । अब यी दुईबीचको अन्तिम खेल मंगलबार हुनेछ ।