onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयरल्यान्डमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी । आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली इंग्ल्यान्डले सहज जित हासिल गरेको छ । बिहिबार राति भएको खेलमा इंग्ल्यान्डले सहज जित हासिल गर्ने क्रममा ६ विकेटले जित आत्मसाथ गर्यो ।

खेलमा पाहुना टोली आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले उक्त लक्ष्यलाई २७. ५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सामान्य लक्ष्यलाई भएपनि इंग्ल्यान्डको सुरुवात पनि त्यति सन्तोषजनक भने हुन् सकेको थिएन् । खेलमा इंग्ल्यान्डले तेस्रो ओभरको अन्तिम बलमा ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोलाई टिमको स्कोर १२ रन हुँदा गुमाएको थियो । क्रेग यंगको बलमा एलबिडब्लुको सिकार भएका उनले मात्र २ रन बनाएका थिए ।

बेयरस्टो आउट भएपछि अर्का ओपनर ब्याट्सम्यान जेसन रोय दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए । ५.३ ओभरमा टिमको स्कोर ३२ रनमा भएको अवस्थामा आउट भएका उनले २४ रन बनाएका थिए । त्यसपछि जेम्स भेन्सले २५ रन र टम बेन्टनले ११ रन थप्दा सर्वाधिक ठूलो पारी खेलेका साम बिलिंग्सले अविजित रहँदै ६७ रन र कप्तान इयोन मोर्गनले पनि अविजित रहँदै ३६ रनको योगदान गरेपछि टिमले आयरल्यान्डमाथि सहज जित हासिल गर्न सफल भएको थियो ।

बलिङतर्फ आयरल्यान्डका क्रेग यंगले २ तथा एंडी मैकब्राइन र कर्टिस कैमरफले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ४४.४ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा सिमित हुन् पुगेको थियो।

उसका लागि कर्टिस कैमरफले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा अर्धशतकीय पारी खेलेका थिए। टिमको पारी उकास्न महत्वपूर्ण योगदान गरेका उनले ११८ बलको सामना गर्दै ४ चौकासहित ५९ रन बनाएको थियो ।

यस्तै टिमका लागि एंडी मैकब्राइनले ४० तथा केविन ओ ब्रायन र ,गैरेथ डेलानीले समान २२-२२ रनको योगदान गरेपनि बाँकी खेलाडीको उलेख्य योगदान नरहँदा टिम कम स्कोरमा सिमित हुन् पुगेको थियो ।

आयरल्यान्डलाई कम स्कोर भित्र रोक्ने क्रममा इंग्ल्यान्डका डेभिड विले एक्लैले ५ विकेट चट्काएका थिए । भने साकीब महमूदले २ तथा आदिल रशीद र टम कुरानले पनि १-१ विकेट हात पारेका थिए ।

सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटको सुपर लिग अन्तर्गतको यो सिरिजमा दोस्रो खेल अब शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्