विश्वकप सुपर लिग : आज इंग्ल्यान्ड र आयरल्यान्ड भिड्दै
एजेन्सी । सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गत विश्वकप सुपर लिगमा आज इंग्ल्यान्ड र आयरल्यान्ड भिड्दै छन् ।
नेपाली समय अनुसार बेलुकी पौने ७ बजेपछिसाउथह्याम्प्टनस्थित रोज बाउलमा हुने खेलमा घरेलु टोली इंग्ल्यान्ड स्पष्ट जितको खोजिमा हुनेछ ।
तुलनात्मक हिसाबले पनि इंग्ल्यान्डसामू आयरल्यान्ड कमजोर पक्कै देखिन्छ । क्रिकेटको बलियो टोली मध्यको एक इंग्ल्यान्डसँग उदाउँदो आयरल्यान्ड आज कसरी प्रस्तुत हुनेछ त्यो हेर्न भने बाँकी रहेको छ ।
यसअघि कोरोना भाइरस( कोभिड-१९ ) का कारण केही महिना रोकिएको क्रिकेट खेल टेष्ट सिरिजबाट सुचारु भएको थियो । जसमा तीन खेलको सिरिजमा इंग्ल्यान्डले पाहुना टोली वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेको थियो ।
विश्वकप छ्नोटको एक अभिन्न अंगको रुपमा रहेको यस सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्डको सहभागिता रहेको छ । जसको सुरुवात यस सिरिजबाट हुँदैछ ।
सुपर लिग के हो ?
आईसीसीको नयाँ संरचना अनुसार विश्वकपमा पुग्न कुल ५ वटा बाटो रहेको छ । आगामी एकदिवसीय विश्वकप खेल्न पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो विश्वकप क्वालिफायर प्ले अफ र अन्तिम विश्वकप क्वालिफायर पार गर्नु पर्ने छ ।
छ्नोट प्रक्रियाको पहिलो आईसीसी सुपर लिगमा हाल रहेका १२ टेष्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्यान्ड सहित कुल १३ राष्ट्रले सुपर लिग खेल्ने छन् । नेदरल्यान्डलाई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताका हैसियतले यस सुपर लिगमा समावेश गरिएको हो ।
जसबाट उत्कृष्ट ८ टोलि सिधै विश्वकपमा पुग्ने छन् । यदी विश्वकपको आयोजक भारत टप ८ भित्र नपरे अरु टप ७ सहित भारतलाई समाबेश गरिने छ ।
यसपछि सुपर लिगका अन्तिम ५ टिमहरुले पुन: अर्को विश्वकप छ्नोट खेल्ने मौका पाउने छन् ।
यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्यान्ड सहित ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिगमा समाबेश रहेका छन् । आईसीसी लिग -२ का खेलहरु पनि अहिले सुरु भईसकेका छन् ।
यहाँबाट उत्कृष्ट ३ टिम विश्वकप छ्नोट खेल्नेछन । भने बाँकी ४ टिम लाई विश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थानका १२ टिमहरु यो कपमा समाबेश छन् । जहाँ बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु, र कतारको सहभागिता रहको छ । च्यालेन्ज कपलाई २ समूह विभाजन गरिएको छ ।
६/६ वटा टिमबाट २ समुहबाट समुह विजेता बन्ने दुई टोलीले विश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छन् ।
प्ले अफ क्वालिफायरमा आईसीसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कपबाट छानिएका २ टिमबीच गरि कुल ६ टिमले प्ले अफ खेल्ने छ्न ।
यहाँ बाट उत्कृष्ट २ टिमले विश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र अन्तिममा विश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिमका ५ टिमहरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र विश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले विश्वकप क्वालिफायर खेल्ने छन् । जसबाट मात्र २ टोलीले भारतमा हुने विश्वकपको टिकट पक्का गर्नेछन् ।