
सिपीएल खेल्न सन्दीप भोलि त्यसतर्फ प्रस्थान गर्ने
काठमाडौं (अनलाइन खेलखबर ) । आउँदो अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म हुँने वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग ( सीपीएल ) खेल्नका लागि नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनलिस्ट रमन शिवाकोटीका अनुसार उनि बिहिबार त्यसतर्फ कोरियन एयरलाइन्सको चार्टर विमानबाट बिहान १० बजे प्रस्थान गर्नेछन् । र अगस्ट १ तारिखमा उनि गन्तव्यमा पुग्नेछन् ।
यसबीचमा कोरोना भाइरस ( कोभिड-१९ ) का कारण नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले सिपीएल खेल्ने अनिश्चित जस्तै देखिएको थियो । तर सन्दीपको यात्राको ब्यबस्था नेपाल सरकारले मिलाई दिएपछि अब भने सन्दीप सिपीएलमा उपलब्ध हुने भएका हुन् ।
अब कोरोना भाइरसलाई मध्यनजर गर्दै सन्दीप क्वारेन्टाइनमा केहि दिन बिताउने छन् र त्यसपछि टिमसँग जोडिने छन् ।
लगातार तेस्रो सिरिज खेल्ने तयारीमा रहेका सन्दीप यसपटक जमैका तलावाजबाट खेल्नेछन् ।उनलाई केहि दिनअघि ड्राफ्टकामार्फत जमैकाले न्युनतम मूल्य ९० हजार अमेरिकन डलरसहित टिममा अनुबन्धित गरेको थियो ।
यसअघि सन्दीपले सन् २०१८ मा पहिलोपटक सिपीएल खेलेका थिए । उनलाई सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसमा उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।
पहिलो सिजन सेन्ट किट्सबाट खेलेका उनि दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनलाई बार्बाडोसले ७० हजार अमेरिकन डलर तिरेको थियो । जसमा उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए ।