निर्णायक खेलमा इंग्ल्यान्ड हावी
एजेन्सी । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन खेलको टेष्ट सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली इंग्ल्यान्ड दोस्रो दिनको समाप्ति सम्ममा वेस्ट इन्डिजमाथि हावी हुन् पुगेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनमा ८५.४ ओभर भित्र मात्र ४ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । त्यसपछि दोस्रो दिनको सुरु गरेको इंग्ल्यान्डले १ सय ११ रन थप्दै सबै विकेट गुमाएपछि इंग्ल्यान्डको पहिलो पारीमा ३ सय ६९ रन बनाएको छ ।
उसका लागि ओली पोपले सर्वाधिक धेरै रन बनाए । शतकबाट चुक्न पुगेका उनले १५० बलको सामना गर्दै ११ चौकासहित ९१ रनको योगदान गरेका थिए ।
यस्तै विकेट किपर ब्याट्सम्यान जोस बटलरले ६७ रन तथा स्टुअर्ट ब्रॉडले ६२ रन र ओपनर ब्याट्सम्यान रोरी बर्न्सले ५७ रन बनाएपछि इंग्ल्यान्ड पहिलो पारीमा यो योगफलतर्फ पुग्न सफल भयो ।
बलिङतर्फ वेस्ट इन्डिजका केमर रोचले सर्वाधिक ४ तथा शैनन गेब्रियल र रोस्टन चेसले समान २/२ विकेट लिएका थिए भने कप्तान जेसन होल्डरले पनि १ विकेट हात पारे ।
त्यसपछि खेलको दोस्रो दिनबाट आफ्नो पहिलो पारीको सुरुवात गरेको पाहुना टोली वेस्ट इन्डिजले अहिले ४७.१ ओभर भित्र ६ विकेट गुमाएर मात्र १ सय ३७ रन बनाएको छ ।
निकै खराब ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोन कैम्पबेलले ३२ रन , जर्मेन ब्लैकवुडले २६ तथा शाई होपले १७ रन बनाउँदा बाँकी तीन ब्याट्सम्यानले दोहोरो अंक जोड्न समेत सकेनन् ।
दोस्रो दिनको समाप्ति सम्ममा २ सय ३२ रनले पछि परिरहेको वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले २४ रन र शेन डाउरिच १० रनमा अहिले अविजित रहेका छन् ।
पहिलो पारीको पहिलो दिनमानै वेस्ट इन्डिजको ब्याटिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका जेम्स एंडरसन र स्टुअर्ट ब्रॉडले समान २-२ विकेट लिए भने जोफ्रा आर्चर र क्रिस वोक्सले पनि १-१ विकेट लिएका थिए ।
तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा पाहुला टोली वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै घरेलु टोली इंग्ल्यान्डले १ सय १३ रनले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।