सेते दाइको परिवारलाई एक लाख सहयोग प्राप्त
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय कार्यरत रहेका मैदान कर्मचारी स्वर्गीय जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई सहयोग रकम प्राप्त भएको छ ।
मिर्गौला रोगबाट पिडित रहेका तामाङले उपचारकै क्रममा गत चैत्र महिनामा आफ्नो ज्यान गुमाएका थिए । लामो समय मैदान कर्मचारीको हैसियतबाट नेपाली क्रिकेटमा योगदान पुर्याएका उनको परिवारलाई शुक्रबार नेप्लिज क्यानेडियन क्रिकेट क्लबले एक लाख आर्थिक सहयोग गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य नरेशबहादुर बुढाऐर र महेश क्षेत्रीको अगुवाईमा उनको परिवारलाई सहयोग गरिएको हो । क्लबले पठाएको सहयोग रकम सिप्यानका अध्यक्ष मनिस राज पाण्डेले सेते दाइकी श्रीमतीलाई मैदानमै पुगेर प्रदान गरेका थिए ।