अष्ट्रेलियन क्रिकेट टोली पनि फर्कियो प्रशिक्षणमा
एजेन्सी – अष्ट्रेलियन क्रिकेट टोली पनि आफ्नो आन्तरिक प्रशिक्षणमा जुटेको छ ।
हाल विश्वभर माहामारीको रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड-१९ ) का कारण बीचमा रोकिएको क्रिकेट गतिविधि अहिले क्रमशः फर्किने क्रममा रहेको छ । यसबीचमा श्रीलंका , इंग्ल्यान्डसँगै अष्ट्रेलियाले पनि आफ्नो प्रशिक्षण सुरु गरेको छ ।
सोमबार देखि सुरु भएको प्रशिक्षणको पहिलो दिन टिमका महत्वपूर्ण खेलाडी स्टीव स्मिथ, डेविड वार्नर र तिब्रगतिका बलर मिचेल स्टार्कले अभ्यास गरेका थिए ।
अष्ट्रेलियाले अगस्ट ९ बाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्दैछ । जसमा सुरुमा जिम्बाबेसँग टि – ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि अफगानिस्तान र भारतसँग खेल्ने खेलतालिका रहेको छ ।
त्यसपछि भने टि – ट्वान्टी विश्वकप अष्ट्रेलियामा हुने तय भएपनि त्यो बर्तमान अवस्थाले गर्दा टुंगो छैन । जसको टुंगो जुन १० गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को बोर्ड बैठकले गर्नेछ ।