‘सन्दीपमा विशेष प्रतिभा छ’-सक्लेन मुश्ताक
काठमाडौं(अनलाइन खेलखबर )।पाकिस्तानका पूर्व क्रिकेटर विश्व प्रसिद्व बलर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक सक्लेन मुश्ताकले नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेमा विशेष प्रतिभा रहेको बताएका छन् ।
मंगलबार ग्रेट हिमालय क्रिकेट एकेडेमीको फेसबुक पेजमा कुराकानी गर्ने क्रममा उनले उक्त कुरा उल्लेख गरेका थिए ।
कुराकानीका दौरान उनि भन्छन्,‘नेपाली क्रिकेट टिमले पूरा खेलेको नहेरेको भएपनि सन्दीपको भने पाकिस्तान सुपर लिगका दौरान हेरेको छु ।उनले प्रभावित समेत गरेका छन् । उनमा स्पेशल ( विशेष) प्रतिभा रहेको छ । तसर्थ मलाई विश्वास छ नेपालमा पनि प्रतिभावान खेलाडीहरु छन् ’।
मुश्ताक वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको विषेश कार्यक्रमका लागि अप्रिलमा नेपाल आउँन लागेका थिए । तर यसबीचमा कोरोना भाइरसको संकट देखा परेपछी उनि आउँन सकेनन् । अब उनी कोरोना भाइरस रोकथाम भएपछी नेपाल आउँने बाचा पूरा गर्ने बताएका छन् ।
सक्लेन मुश्ताकलाई अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै सफल बलरका रुपमा लिने गरिन्छ । ९० को दशकमा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० , १५०, २०० र २५० विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ ।
एकदिवसीय प्रतियोगितामा दुईवटा ह्याट्रिक पनि उनको नाममा रहेको छ । जसमध्य एउटा उनले विश्वकपका दौरान लिन सफल भएका थिए ।
सन् २०१९ मा इंग्ल्यान्डले विश्वकप जित्दा बलिङ प्रशिक्षकका रुपमा रहेका मुश्ताकले त्यसभन्दा अघि उनले न्युजिल्यान्ड, वेस्ट ईन्डिज , अष्ट्रेलिया , बंगलादेश र पाकिस्तान टोलीलाई समेत बलिङ प्रशिक्षकका रुपमा हेरेका थिए ।