रमजानमा अप्सरी- ‘पूरा रोजा बस्ने सोचमा छु ’
काठमाडौं (अनलाइन खेलखबर ) । विश्वभर हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस ( कोभिड -१९ ) को प्रभावबाट हाम्रो देश नेपाल पनि अछुतो रहेको छैन ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा देशभर लकडाउन जारी राखेको छ । जून अहिले महिना दिन भन्दा पनि बढी भईसकेको अवस्था छ ।
यो माहोलमा अहिले सम्पूर्णले भाइरसविरुद्ध लड्न घरमै सुरक्षित दिनचर्या बिताईरहेका छन् । अन्य क्षेत्रसँगै खेलकुद पनि पूर्ण प्रभावित छ । अहिले कुनै खेलकुद गतिविधि भएका छैनन् । यस्तोमा प्रायजस्तो खेलाडीहरु पनि घरमै परिवारजनहरुसँग समय बिताईरहेका छन् ।
यसबीचमा गृहजिल्ला झापामा रहेकी राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई यो लकडाउनले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा रोजा(व्रत )बस्ने अवसर जुर्याईदिएको छ ।
महिला क्रिकेटमा प्रतियोगिताको क्यालेन्डर नभएको हुँदा उनि केही महिना अघि देखिनै गृहजिल्ला झापामानै रहेकी छिन् । त्यहाँ उनले आफ्नो क्रिकेटको अभ्यास नियमित रुपमा गर्दै आएकी थिइन् तर कोरोनाका कारण अभ्यासको माहोल नहुँदा अहिले उनको दिनचर्चा परिवारसँग बितिरहेको छ ।
र त्यसैको सेरोफेरो लकडाउनको बीचमा रमजान सुरु भएपछि भने अप्सरीको दैनिकीमा केही परिवर्तन भएको छ । सुरुवात देखि रोजा बसिरहेकी छिन् । अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा उनि भन्छिन् ,‘यस वर्ष रोजा पूरा बस्ने सोच बनाईरहेको छु । मलाई विश्वास छ । म पूरा गर्न सक्नेछु ’ ।
यता रोजासँगै आफ्नो फिटनेसमा पनि काम गरिरहेको छु । खेलाडीका लागि फिटनेस धेरै जरुरी हुन्छ । त्यसका लागि यो समयलाई सदुपयोग गर्ने प्रयासमा छु ।
लकडाउनको यो अवस्थामा दिनहरु कसरी बितिरहेको छ भन्ने हाम्रो प्रश्नमा,‘यहीँ हो रोजा,अनि फिटनेस र घरमा घरायसी कामहरु गरेर बितिरहेको छ,’उनी बताउँछिन् ।
अप्सरी मुस्लिम समुदायबाट राष्ट्रिय महिला क्रिकेट टोलीमा प्रतिनिधित्व गर्ने पहिलो क्रिकेटर समेत हुन् । पुरुष क्रिकेटमा धेरै खेलाडीहरु भएपनि महिला क्रिकेटमा भने हालसम्म उनि एकमात्र मुस्लिम खेलाडी रहेकी छिन् ।
२०७३ सालमा बिराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदबाट अप्सरीको घरेलु प्रतियोगिताको सुरुवात भएको थियो । त्यसबेला उनको टिम पूर्वाञ्चल च्याम्पियन समेत बनेको थियो ।
त्यहीँ प्रतियोगिताको आधारमा उनलाई टिमको बन्द प्रशिक्षणमा बोलाईएको थियो । पहिलो बन्द प्रशिक्षणमानै आफुलाई प्रमाणित गर्दै उनि टिममा पर्न सफल भएकी थिइन् ।
दायाँहाते ब्याटर अप्सरीले राष्ट्रिय टिममा पाईला चालेको भने धेरै भएको छैन । उनले सन् २०१९ को फेब्रुअरी २२ तारिखमा आईसीसी महिला टि–२० विश्वकप एसियाली छनोट प्रतियोगितामा युएईसँग खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् ।
राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेको धेरै समय नभएतापनि उनको मेहनत र परिश्रमका कारण महिला क्रिकेटमा ठूलो सम्भावना बोकेको खेलाडीको रुपमा उनलाई लिने गरिन्छ ।