क्रिकेट खेलाडीहरुलाई पनि सागको पुरस्कार प्राप्त
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालमा सम्पन्न १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद (साग ) मा कास्यपदक विजेता नेपाली महिला तथा पुरुष क्रिकेट खेलाडीलाई नेपाल सरकारबाट प्रदान भएको नगद पुरस्कार प्राप्त भएको छ ।
तत्कालीन नेपाली पुरुष राष्ट्रिय टिमका टिम ब्यबस्थापक सुमनराज कार्कीका अनुसार नेपाली क्रिकेट टोलीका सबै खेलाडीहरुले बिहिबारसम्ममा पुरस्कार रकम प्राप्त गरिसकेका छन् ।
नेपाली महिला र पुरुष टोलीले सागमा माल्दिभ्सलाई हराउँदै दुबैले कास्य पदक जित्न सफल भएका थिए । सोही पदक वाफत टोलीका सदस्यहरुले जनही २/२ लाख प्राप्त गरेका छन् ।
यता साग सम्पन्न भएको करिव चार महिनापछि सरकारले सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेर सकेकाे अवस्था छ ।
युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको छ।
जसमा क्रिकेटसँगै सरकारले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख प्रदान गर्दा र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले समान ११ /११ लाख प्राप्त गरेका छन् ।
भने ब्यक्तिगत प्रतिस्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ प्राप्त गर्दा टिम ईभेन्ट्स तर्फ स्वर्ण विजेता खेलाडीले जनही ६ लाख, रजत विजेताले ४ लाख र कास्य विजेता खेलाडीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
भने प्रशिक्षकतर्फ स्वर्ण पदक जित्नेले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै सहायक प्रशिक्षकतर्फ स्वर्ण जित्नेले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
भने स्वर्ण जित्ने खेल संघले ५ लाख , रजत जित्ने खेल संघले ३ लाख र कास्य जित्ने खेल संघले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसबीचमा खेलाडी पछि अब क्रमश प्रशिक्षकहरुलाई पनि पुरस्कार उनिहरुको बैंक खातामा जम्मा गरिने मन्त्रालयले उल्लेख गरेको छ ।