रोहितको नजरमा रिकी पोन्टिङ उत्कृष्ट प्रशिक्षक
एजेन्सी । भारतीय क्रिकेट टोलीका उप कप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले अष्ट्रेलियाका पूर्व – कप्तान रिकी पोन्टिङलाई आफ्नो करिअरकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् ।
ईङल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सन्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले उक्त कुरालाई खुलाएका हुन् ।
विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) मा मुम्बई ईन्डियनको कप्तानसमेत रहेका रोहितले आईपीएलमा टिमको प्रदर्शनमा पोन्टिङको कुशल प्रशिक्षण रहेको धारणा राख्छन् ।
उनले मुम्बई ईन्डियन्सलाई दुई वर्ष प्रशिक्षण गराएका थिए । त्यसअघि रोहित पोन्टिङको कप्तानीमा टिममा रहेका थिए । पोन्टिङले नै पहिलोपटक रोहितलाई कप्तानीको जिम्मेवारी सुम्पेका थिए ।
कुरा सन् २०१३ को जहाँ पोन्टिङले प्रतियोगिताको बीचमा रोहितलाई कप्तानीको जिम्मेवारी दिएका थिए । जुन संस्करण मुम्बईले नै जितेको थियो । आईपीएलमा सफल मुम्बईले त्यसपछि सन् २०१५ , २०१७ र २०१९ को आईपीएल जित्न सफल भएको छ ।
सन् २०१५ र २०१६ मा मुम्बईमा रहेका पोन्टिङ अहिले भने नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो प्रभाव छोड्न सफल पोन्टिङले प्रशिक्षणमा पनि राम्रो छाप छोड्न सफल हुँदै छन् ।