गर्व लाग्छ – ‘ हामी पनि विश्वकप खेलेको देशका नागरिक हौं ’

गर्व लाग्छ – ‘ हामी पनि विश्वकप खेलेको देशका नागरिक हौं ’

सलमान शाह ( अनलाइन खेलखबर ) । आज भन्दा ठिक ६ वर्ष अघि फर्केर हेर्दा नेपाली खेलकुद जगतले पाएको अहिले सम्मकै सर्वाधिक ठूलो उपलब्धि रहेको थियो नेपाल पहिलोपटक कुनै खेलको विश्वकप खेल्दै थियो ।

सन् २०१४ अर्थात नेपालले ईतिहास रचेको वर्ष , जून ईतिहास नेपाली क्रिकेट टिमले बंगलादेशमा रचेको थियो । समय बितेछ , तर त्यो समयलाई कदापी नेपाली मन मनले भुलेको छैन ।

सन् १९९६ मा एसोसियट टिमको मान्यता प्राप्त गरेको नेपालले सोहि वर्षको सेप्टेम्बरमा बंगलादेशविरुद्व खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाईला चालेको नेपालले त्यही भूमिमा १८ वर्षपछी पहिलोपटक विश्वकप खेल्दै थियो ।

सन् २०१३ मा विश्वकपको अन्तिम छनोट प्रतियोगिताबाट प्ले अफ हुँदै चौथों संस्करणको विश्वकपमा छनोट भएपछी माहोल नेपालमा खुशियालीयुक्त बनेको थियो । आखिर नबनोस पनि किन नेपालको झण्डा पहिलोपटक यो स्तरको प्रतियोगीतामा फरफराउँदै थियो ।

अझ भन्ने हो भने नेपाललाई क्रिकेटले मज्जैले छोएको थियो । विश्वकप छनोटमा अलिकति लामो बाटो तय भएपछी पहिलोपटक विश्वकप खेल्दै गरेको नेपालका लागि उत्साहका साथै विश्वकपमा नेपालको क्षमतालाई विश्वलाई देखाउन पर्छ नेपाली क्रिकेटको ईज्जत जोगाउनु पर्छ भन्ने लागेको थियो ।

त्यहि मनस्थितिमा नेपालले निकै मेहनतका साथ तयारी गरिरहेको थियो । खेलाडीमा पनि निकै जोश र उत्साह भरिएको थियो । छनोट पछी विश्वकपको मिति जति नजिक हुँदै गर्थ्यो त्यसले झन थप रोमान्चक थप्ने काम गर्थ्यो ।

सिंगो नेपाल विश्वकपको पर्खाईमा रहेको थियो । कहिले आउँछ त्यो दिन, नेपालीलाई त्यो दिनको पर्खाई पनि लामो भएको जस्तो लागिरहेको थियो र त्यहि पर्खाई र सपना पूरा भएको दिन पनि आयो , तारिख थियो मार्च १६ -२०१४ ।

जसमा नेपालले विश्वकपको दोस्रो र आफ्नो पहिलो खेल हङकङसँग खेल्दै थियो । भब्य रुपमा बंगलादेशले विश्वकपलाई आयोजना गरेको थियो ।

त्यसरी नै खेल हुने रंगशालालाई सजिएका थिए । नेपालले पहिलो खेल जहुर अहमद चौधरी स्टेडियम चिटागोंगमा खेल्दै थियो । करिव २२ हजार क्षमताको उक्त रंगशालामा नेपाललाई साथ दिन करिव ३ हजार जति नेपाली समर्थक त्यहा पुगेका थिए ।

अधिकाम्स पढन बंगलादेश गएका थिए । नेपाली यति उत्साहित थिए कि दिउँसैबाट नेपाली समर्थकहरु नेपालको झन्डा बोक्दै , झण्डासहितको जर्सीका साथ रंगशालामा खेल्न हेर्नका लागि पुगेका थिए ।

यता नेपालमा रङको पर्व होली पनि चल्दै थियो , बेलुका नेपालले पहिलोपटक विश्वकप खेल्दै थियो । होलीका साथ नेपालमा मज्जैले क्रिकेट लागेको थियो नेपालमा टोल टोलमा ठूला -ठूला स्क्रिनमा नेपालको खेल हर्ने ब्यबस्था मिलाईएको थियो ।

विशेषगरी बसन्तपुर र पाटनको त्यो माहोल निकै लोभलाग्दो रहेको थियो । नेपालले बंगलादेशमा खेलेको भएपनि आवास भने नेपालमै खेलेको जस्तो लागिरहेको थियो ।

उता बंगलादेशमा पनि खेलाडीलाई राम्रो साथ नेपाली समर्थकहरुले दिईरहेका थिए । स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गरेको उक्त खेल आफैमा महत्वपूर्ण रहेको थियो ।

खेलको बीचमा खेलका कमेन्टेटरले पनि नेपाली क्रिकेट र नेपाली समर्थकहरुको तारिफ गरेर थाकेका थिएनन् । स्टार स्पोट्स लगायतका टेलिभिजनमार्फत विश्व भर नेपालको खेल विश्वसामू पुगेको थियो ।

यता खेल सुरु हुने अघि विश्व प्रचलन अनुसार राष्ट्रिय गित बजाउने चलन रहेको हुन्छ । जब रंगशालामा त्यो पनि यो स्तरको खेलमा नेपालको राष्ट्रिय गित बज्दै गर्दा त्यस क्षणले सबैमा भाबुक बनाएको थियो स्वयम् म पनि त्यसबाट अछुतो रहेको थिएन ।

खेलमा टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पायो त्यसलाई नेपालले राम्रो सदुपयोग गर्यो । विश्वकपको पहिलो खेलमा नेपालले सुरुवात पनि निकै राम्रो गर्यो टिमलाई राम्रो सुरुवात दिलाउने क्रममा सागर पुन र सुवाश खकुरेलले राम्रो ब्याटिङ गर्दै ३६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

पाँचौं ओभरको चौथों बलमा सागर पुन १३ रनमा क्याच आउट हुन पुगेका थिए । सागर आउट भएपछी सुवाश पनि व्यक्तिगत २२ रनमा पभेलियन फर्किएका थिए ।

तर त्यसपछी नेपालको पारीलाई कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लले आगाडी बढाए । जसमा उनिहरुले निकै राम्रो र माहोललाई हेर्दै नेपालको ब्याटिङलाई सम्हाले ।

यी दुईबीच तेस्रो विकेटका लागि ८० रनको साझेदारी भएपछी नेपाल बलियो स्थितिमा पुगेको थियो । तर १६.२ ओभरमा टिमको स्कोर ११ ६ रन हुँदा नेपालले तेस्रो विकेटका रुपमा पारस खडकालाई व्यक्तिगत ४१ रनमा गुमाएको थियो ।

क्याच आउट हुन पुगेका पारसले उक्त रन बनाउने क्रममा ३७ बलमा ४ चौकासमेत प्रहार गरेका थिए ।

यस्तै ज्ञानेन्द्र मल्ल भने विश्वकपमा पहिलो अर्धशतक बनाउनमा मात्र २ रनले चुके । ४१ बलको सामना गरेका उनले ४ चौका र १ छ्क्कासहित ४८ रन बनाएका थिए ।

यस्तै शरद भेषवाकरले पनि १४ रन जोडेपछी नेपालले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जुन योगफल त्यसबेला अलिकति कम भएको महशुस गरिएको भएपनि नेपाली बलरहरुको निकै राम्रो प्रदर्शन गरेपछि हङकङ १७ ओभरमा अलआउट हुँदै ६९ रनमा सिमित हुँदा नेपालले पहिलो खेलमै हङकङमाथि ८० रनको सानदार जित निकालेको थियो ।

हङकङको ब्याटिङ ध्वस्त पार्ने क्रममा खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका सक्ति द पावर सक्ति गौचनले ४ ओभरमा मात्र ९ रन दिएर ३ विकेट लिएका थिए । त्यसबेला सक्तिले विकेट लिएपछि गरेको सेलेब्रेसन हेर्न लायक रहेको थियो ।

यस्तै खेलमा अर्का स्पिनर बसन्त रेग्मीले ३ ,सोमपाल कामीले २ र पारस खडकाको त्यो ईनिङकै पहिलो बलमा लिएको विकेट अझै ताजै रहेको थियो ।

पहिलो खेलमा ऐतिहासीक जित हासिल गरेपछि नेपाली क्रिकेटको विश्व जगतमा अझ चर्चा पाएको थियो । विश्वका चर्चित संचारमाध्यमहरुले नेपालको त्यो सानदार जितलाई बढो प्राथमिकता दिएका थिए ।

पहिलो खेलबाटै विश्वकपमा सनसनिपूर्ण प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा घरेलु टोली बंगलादेशको सामना गरेको थियो । टेस्ट मान्यता प्राप्त बंगलादेश अझ उसैको घरेलु मैदानमा नेपाल खेल्दै थियो ।

बंगलादेश त्यसबेला पनि राम्रा र बलिया भनिएका अन्य टेस्ट राष्ट्रलाई हराउने क्षमता राख्थ्यो । त्यस टिमसँग पनि नेपालले सकारात्मक खेल प्रस्तुत गर्यो ।

नेपाललाई कसरी हुन्छ राम्रो खेल प्रस्तुत गर्नु पर्ने थियो र नेपालले सोहि अनुरुप आफुलाई ढाल्यो पनि जसअन्तर्गत नेपाल बंगलादेशसंग ८ विकेटले पराजित हुन पुगेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ विकेट १ सय २६ रन बनाएको थियो । यो स्तरको टिममा नेपालले निर्धारित पूरै खेल्दै उक्त योगफल खडा गर्नुलाई पनि राम्रो मानिएको थियो ।

नेपालले सम्मानजनक योगफल खडा गर्ने क्रममा कप्तान पारस खडकाले ४१ रन , शरद भेषवाकरले ४० तथा ज्ञानेन्द्र मल्लले १३ रन , सागर पुनले १२ र सुवाश खकुरेलले ८ रन बनाएका थिए ।

त्यसपछी नेपालले प्रस्तुत गरेको १ सय २७ रनको विजयी चुनौतीलाई बंगलादेशले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

खेलपछी नेपालको प्रदर्शनलाई लिएर बंगलादेशका कप्तान मुशफिकुर रहीमले खुलेरै तारिफ गरेका थिए र नेपालको खेलले प्रभावित गरेको प्रतिक्रिया दिएका थिए ।

साचिक्कै रहिमले भनेको जस्तै नेपालले खेलमा आफुलाई प्रस्तुत गरेको थियो । नेपाललाई गुमाउनु पर्ने केहि थिएन र सोहि रणनीतिका साथ नेपाल मैदानमा उत्रिएको थियो ।

हङकङमाथिको सानदार जित र घरेलु टोली बंगलादेशसँगको प्रदर्शनबाट उच्च मनोबलमा रहेको नेपालले विश्वकपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गरेको थियो ।

त्यस बेला अफगानिस्तानले नेपाललाई सदैभ ओझेलमा पार्दै गर्थ्यो । नेपाल र अफगानिस्तान र नेपाल एकै स्तरमा रहेको हुँदा भेट पनि बाक्लो हुने गर्थ्यो ।

सिधा भन्दा त्यसबेला यस्तो परिस्थिति थियो कि कुनै प्रतियोगितामा अफगानिस्तान पहिलो र नेपाल दोस्रोझै हुने परम्परानै रहेको थियो । केहि खेलमा अफगानिस्तानलाई नेपालले हराउन नजिक पुगेर पनि असफल हुँदै आएको थियो ।

यसअर्थमा नेपाललाई विश्वकपमा पराजित गरेर देखाउन पर्ने पनि थियो । जसमा नेपालको त्यो धोको पनि विश्वकपमा सफल पनि भयो ।

नेपालले अफगानीस्तानलाई लामो प्रयासपछी पराजित गर्न सफल भएको थियो । यसअर्थमा नेपाललाई यो जितले ठूलो हौसला समेत दिएको थियो ।

अफगानिस्तानविरुद्व टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

नेपालका लागि सुवाश खकुरेलले सर्वाधिक ५६ रनको योगदान गर्दा शरद भेषवाकरले ३७ र ज्ञानेन्द्र मल्लले २२ रनको योगदान गरेका थिए ।

त्यसपछी नेपालले दिएको मध्यम विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अफगानिस्तान निर्धारित २० ओभर पूरै खेलेपनि ८ विकेट गुमाएर १ सय ३२ रनमा सिमित हुन पुगेपछि नेपालले अफगानीस्तानमाथि ९ रनको रोमान्चक जित हासिल गरेको थियो ।

खेलमा अफगानिस्तानले नेपालि बलरहरुलाई हल्का रुपमा आक्दा पराजित हुन पुगेको थियो । खेलमा अफगानिस्तानले आक्रमक शैली अपनाएको भएपनि उ आफ्नो रणनीतिमा आफै फसेको थियो ।

आक्रमक शैलीमा प्रस्तुत हुँदा नेपालका बलरले त्यसको भरपुर फाईदा उठाएका थिए । जसमा खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका जितेन्द्र मुखियाले ३ विकेट , सक्ति गौचन र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए भने बसन्त रेग्मीले १ विकेट हात पारेका थिए ।

नेपाल विश्वकपको पहिलो चरणको समूह ए मा दोस्रो स्थानमा रह्यो । अंकतालिकामा बंगलादेश सँग समान ४/४ अंक भएपनि नेपाल नेट रनरेट्मा पछी पर्दै अर्को चरणमा पुग्न सकेको थिएन बंगलादेश अर्को चरणमा पुग्न सफल भएको थियो ।

तर यसरी पहिलोपटक विश्वकपमा नेपालले अविस्मरणीय छाप छोड्न सफल भयो । भन्नुपर्छ नेपालले हामिले सोचेका र आशा गरेको भन्दा धेरै राम्रो प्रदर्शन गरेको थियो र सो प्रदर्शनले गर्दा नेपाल र क्रिकेट विश्वसामू अझ राम्रोसँग परिचित हुन पुगेको थियो ।

हरेक देशको सपना हुन्छ , विश्वकप खेल्ने , क्षमता अनुसार विश्वकपमा आफ्नो आफ्नो लक्ष्य हुन्छ कतिले विश्वकपको ट्रफी उचाल्ने हुन्छ त कति विश्वकपमा पुग्नका लागि ठूलो सपना बुनिरहेका हुन्छन् ।

जसमा कयौं ठूला भनिएका देशहरु पनि सफल हुन सकिरहेका हुँदैनन् यस्तोमा हामि ६ वर्षअघिनै विश्वकप खेलिसक्यौ र गर्वका साथ भन्नुपर्छ हामि पनि विश्वकप खेलेको देशका नागरिक बनेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *