
न्युजिल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित
एजेन्सी । अष्ट्रेलिया र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलिया विजयी हुन सफल भएको छ ।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा जित हासिल गर्ने क्रममा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गर्न सफल भयो ।
खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड ४१ ओभरमा अलआउट हुँदै १ सय ८७ रनमा सिमित हुन पुगेपछी नतिजा अष्ट्रेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।
मध्यम लक्ष्यलाई पछ्याएको भएपनि न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलले ४० रन तथा टोम लाथमले ३८ रन र कोलिन डि ग्रान्डहोम्मेले २५ रन बनाउँनु बाहेक अन्य खेलाडीहरुबाट त्यति सन्तोषजनक ब्याटिङ हुन नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ अष्ट्रेलियाका मिशेल मार्श र प्याट कमिन्सले समान ३/३ विकेट हात पार्दा जोश हेजलवुड र एडम जम्पाले पनि २/२ विकेट लिएका थिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।
उक्त योगफल खडा गर्ने क्रममा अष्ट्रेलिया राम्रो सुरुवात पाएको थियो । ओपनरद्वय डेविट वार्नर र आरोन फिन्चले १२४ रनको ओपनिङ साझेदारी गरेका थिए ।
२४.१ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका वार्नरले ८८ बलको सामना गर्दै ९ चौकासहित ६७ रन बनाएका थिए ।
यस्तै फिन्चले पनि अर्धशतकीय पारी खेल्न सफल भए । ७५ बलको सामन गरेका उनले ३ चौका र २ छ्क्कासहित ६० रन बनाए ।
यी दुई ब्याट्सम्यानसँगै मार्नस लाबुसेनले पनि ५६ रन तथा मिशेल मार्शले २७ रनको योगदान गरेका थिए ।
बलिङतर्फ न्युजिल्यान्डका ईश सोधीले ३ तथा मिशेल सन्तनर र लकी फर्ग्युसनले समान २/२ विकेट हात पारेका थिए ।
अब सिरिजको दोस्रो खेल आईतबार हुनेछ ।