onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अरियो र बिवत्सु ललितपुरमा अनुबन्धित

काठमाडौं (अनलाइन खेलखबर ) । साविकको विजेता ललितपुर प्याट्रियट्सले यस संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) का लागि दुई खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्राएको छ ।

जसअन्तर्गत टिमले ब्याट्सम्यान बिभत्सु थापा र स्पिनर अरियो पौडेललाई टिममा अनुबन्धित गरेको छ ।

अरियो यिनै खेलाडी हुन जसले केही दिनअघि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा भएको नेपालको पहिलो दुई दिवसिय यु-१९ क्रिकेट प्रतियोगिता हिमालय क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनको उत्कृष्ट प्रदर्शनमा उनको टिम ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिताको उपाधिसमेत उचाल्न सफल भएको थियो । जो प्रतियोगितामा उनी उदयमान खेलाडीसमेत घोषित हुन पुगेका थिए ।

ईपीएलको प्रावधान अनुसार प्रतियोगितामा सहभागी ६ टोलीले अनिवार्य रुपमा ट्यालेन्ट हन्टबाट कम्तिमा २ जना खेलाडीलाई टिममा अनुबन्ध गर्नेपर्ने हुन्छ । त्यस्तोमा ललितपुर यो संस्करणका लागि ट्यालेन्ट हन्टमार्फत खेलाडी भित्राउने पहिलो टिम बनेको छ ।

यता यहि चैत्र १ गते देखि १५ गतेसम्म आयोजना हुने तय भएको ईपीएल अन्तिम समयमा आएर कोराना भाइरसका कारण स्थगित हुन पुगेको थियो । नयाँ मिती अब यहि माहोललाई मध्यनजर गर्दै आयोजकले तोक्ने बताएको छ ।

यस्तै ललितपुरले विदेशी खेलाडीको रुपमा श्रीलंका पूर्व कप्तान समेत रहेका उपुल थरंगासँगै पाकिस्तानका तीन खेलाडीहरु हसन खान, हमाद आजम र बलर मिर हाम्जालाई टिममा अनुबन्धित गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *