विरेन्द्र सहवाग र सचिन तेन्दुलकरको उत्कृष्ट ब्याटिङमा भारतीय टोलीको विजयी सुरुवात
एजेन्सी । सचिन तेन्दुलकर र विरेन्द्र सहवागको उत्कृष्ट ब्याटिङमा भारतमा शनिबारबाट सुरु भएको रोड सेफ्टी वर्ल्ड सीरीज टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय टोलीले विजयी सुरुवात गरेको छ ।
शनिबार प्रतियोगिताको पहिलो खेलमा भारतीय लेजेंड्सले वेस्ट ईन्डिज लेजेंड्सलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा वेस्ट ईन्डिज टोलीले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतिय टोलीले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गरेको थियो ।
सम्मानजनक विजयी लक्ष्यलाई पछ्याएको भारतीय टोलीको सुरुवात पनि निकै राम्रो हुन पुगेको थियो ।
पहिलो विकेटका लागि ओपनर जोडी सचिन तेन्दुलकर र विरेन्द्र सहवागले ८३ रनको साझेदारी गरेका थिए ।
१०.२ ओभरमा पहिलो विकेटका रुपमा टिमले सचिनलाई ब्यक्तिगत ३६ रनमा गुमायो । सुलिमान बेनको बलमा क्याच आउट हुन पुगेका उनले २९ बलको सामना गर्दै ७ चौकासहित उक्त रन बनाए ।
सचिन आउट भएपछी विरेन्द्रलाई मोहम्मद कैफले साथ दिन मैदानमा आएका थिए । उनि १४ रन बनाएर आउट हुन पुगे । भने टिमलाई प्रतियोगितामा विजयी सुरुवात दिलाउँने क्रममा
विरेन्द्र सहवागले अविजित रहदै ७४ रनको योगदान गरे ।
५७ बलको सामना गरेका उनले ११ चौकासहित उक्त रन बनाए । यस्तै युवराज सिंह पनि ११ रनमा अविजित रहे ।
बलिङतर्फ वेस्ट ईन्डिजका कार्ल हूपरले २ तथा सुलिमानले १ विकेट हात पारे ।
त्यसअघि वानखडे स्टेडियम मुम्बैइमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट ईन्डिज लेजेंड्सले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
वेस्ट ईन्डिज टोलीका लागि ओपनर ब्याट्सम्यान शिवनारायण चन्दरपॉलले सर्वाधिक ठूलो योगदान गरेका थिए । ४१ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्कासहित ६१ रनको योगदान गरेका थिए ।
यस्तै अर्का ओपनर ब्याट्सम्यान डारेन गंगाले ३२ रन र टिमका कप्तान ब्रायन लाराले १७ रन जोडेपछी टिमले ठूलो लक्ष्य बनाउँन सफल भएको थियो ।
बलिङतर्फ भारतीय टोलीका जहिर खान , मुनाफ पटेल र प्रज्ञान ओझाले समान २/२ विकेट लिएका थिए । भने ईर्फान पठानले पनि १ विकेट लिएका थिए ।
रोड सेफ्टीको सहयोगार्थ सुरु भएको यस प्रतियोगितामा कुल ५ देशका हस्ती खेलाडीहरुको सहभागीता रहेको छ । जसमा भारत , वेस्ट ईन्डिज , अष्ट्रेलिया , श्रीलंका र दक्षिण अफ्रिकाका दिग्गज खेलाडीहरु खेल्दैछन् ।