onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालको लगातार दोस्रो हार : हङकङसँग ४३ रनले पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

आईतबार भएको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएपछी पाकिस्तानमा हुँने एसिया कप टि – ट्वान्टीको लागि छ्नोट कठिन बन्न पुगेको छ ।

छ्नोटको प्रक्रिया अन्तर्गत ५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका शिर्ष दुई टोली एसिया कपको अन्तिम छ्नोटमा छानिने छन् । यस्तोमा लगातार दुई खेलमा पराजित भएपछी नेपालको सम्भावना निकै कठिन बनेको छ ।

यसअधि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुन पुगेको थियो ।

यता खेलमा हङकङले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल १८.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा सिमित हुन पुगेपछी नेपाल प्रतियोगितामा लगातार दोस्रोपटक निराश हुन पुग्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ४३ बलमा ४ चौका र १ छक्कासहित ४६ रनको योगदान गरे ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान कुशल मल्लले १९ रन ,अभिनाश बोहराले १२ र मोहम्मद आरिफ शेखले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा हङकङका हारुन मोहम्मद अर्साद एक्लैले ५ विकेट लिए । भने अफ्ताव हुसेनले ३ र ईसान खानले २ लिए ।

त्यसअघि बैँककस्थित ट्रेडथाई मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। 

हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रनको योगदान गरे । २९ बलको सामना गरेका उनले ६ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि मोहम्मद एईजाज खानले २९ तथा ओपनर ब्याट्सम्यान शाहिद वासिदले २६ र हारोन मोहम्मद अर्सादले २७ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सुशान भारीले समान २/२ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।

अब नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार घरेलु टोली थाईल्याण्डको सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *