onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार तेस्रो जित निकाल्दै भारत विश्वकपको सेमिफाइनलमा

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टि- ट्वान्टी महिला विश्वकपमा लगातार तीन खेलमा जित निकाल्दै भारत विश्वकपको सेमिफाइनल पुगेको छ ।

बिहिबार आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई रोमान्चक बनेको खेलमा ४ रनले पराजित गरेपछि भारत समूह`ए´ बाट एक खेल अगावै सेमिफाइनल पुगेको हो ।

यसअघि भारतले पहिलो खेलमा अष्ट्रेलियालाई १७ रन र दोस्रो खेलमा बंगलादेशलाई १८ रनले पराजित गरेको थियो । अब भारतले समूहको अन्तिम खेलमा श्रीलंकासँग खेल्न बाँकी रहेको छ ।

यता आज भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ३४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय २९ रनमा सिमित हुँंदा जित नजिक पुगेर पनि न्युजिल्यान्ड निराश हुन पुग्यो ।

न्युजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक ३४ रनको योगदान गरिन । अविजित रहेकी उनले १९ बलको सामना गर्दै ६ चौकासहित उक्त रन बनाईएकी थिइन् ।

यस्तै टिमका लागि केटी मार्टिनले २५ र मैडी ग्रीनले २४ रनको योगदान गरेकी थिइन् ।

बलिङतर्फ भारतकी दिप्ती शर्मा , सिखा पाण्डे , राजेश्वरी , पुनम पाण्डे र राधा यादवले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि जक्सन ओभल मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

भारतका लागि ओपनर ब्याटर शैफाली वर्माले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ३४ बलको सामना गर्दै ४ चौका र ३ छक्कासहित ४६ रनको योगदान गरेकी थिइन् ।

यस्तै टिमका लागि विकेट किपर ब्याटर तानिया भाटियाले २३ र राधा यादवले १४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका अमेलिया केर र रोजमरीले समान २/२ विकेट हात पार्दा अन्ना पीटरसन, सोफि र लेया तहुहुले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्