हिमालयमाथि नेक्सस विजयी
काठमाडौं ( अनलाइन खेलखबर ) । हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग (एचसिएल ) को तेस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीले हिमालय क्रिकेट एकेडेमीलाई १ सय ३ रनले पराजित गर्न सफल भएको छ ।
शनिबार खेलको दोस्रो दिन नेक्ससले प्रस्तुत गरेको २ सय ५० रनको विजयी लक्ष्यलाई पछ्याएको हिमालय २७.२ ओभरमा अलआउट हुँदै १ सय ४६ रनमा सिमित हुन पुगेपछी नतिजा नेक्ससले आफ्नो पक्षमा पार्न सफल भयो ।
हिमालयका लागि गजेन्द्र बोहराले सर्वाधिक ठूलो योगदान गरे । ७१ बलको सामना गरेका उनले ११ चौकासहित ६८ रन बनाए । यस्तै टिमका लागि दिपक बोहराले २७ रन र विराट भण्डारीले १३ रन बनाए ।
बलिङतर्फ नेक्ससका नरेन साउद एक्कैले ५ विकेट लिए । भने आकाश चन्दले ४ र क्रिश कार्कीले १ विकेट लिए ।
त्यसअघि आफ्नो दोस्रो ईनिङमा नेक्ससले ५७.३ ओभरमा ईनिङ समाप्ति गर्दै ९ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।
उसका लागि आकाश चन्दले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले ९ चौकासहित ५७ रन बनाए । भने रित गौतमले ४४ रन बनाउँदा सनोज केसी अविजित रहदै ५० रनको योगदान गरे ।
बलिङतर्फ हिमालयका कप्तान प्रतिश जिसीले ५ तथा प्रकाश कार्कीले ४ विकेट लिएका थिए ।
त्यसअघि पहिलो दिन मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्सस क्रिकेट एकेडेमीले पहिलो ईनिङमा ४४.४ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।
नेक्ससका लागि आकाश चन्दले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा २१ रन बनाए । यस्तै टिमका लागि ओपनरद्वय विपिन विक्रम शाही र पियान्सु श्रेष्ठले क्रमशः १९ र १५ रन बनाएका थिए ।
भने सन्जोग केसीले २० रन र विशाल बिक्रम केसीले १० रन बनाउँदा बाँकी खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिएको हो ।
बलिङतर्क हिमालय क्रिकेट एकेडेमीका सन्दीप खड्काले ५ तथा प्रकाश कार्कीले ३ र प्रतिश जिसिले १ विकेट लिएका थिए ।
त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको हिमालयले पनि निकै खराब ब्याटिङ गर्दै २८.३ ओभरमा अलआउट हुँदै १ सय १७ रन मात्र बनायो ।
उसका लागि रजत तिमल्सिनाले ४५ रन तथा सन्दीप शाहीले २१ र दिपक बोहराले २५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टिम निकै कम स्कोरमा रोकिन बाध्य भयो ।
हिमालयको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेक्ससका नरेन साउद एक्लैले ७ विकेट लिएका थिए । ११ ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै ४७ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै क्रिश कार्कीले २ तथा आकाश चन्दले १ विकेट लिएका थिए ।
त्यसपछि शुक्रबारनै नेक्ससले आफ्नो दोस्रो ईनिङ सुरु गरेको थियो । वर्षाले गर्दा निर्धारित समय भन्दा केहि समय अगाडी सम्म नेक्सस ५.३ ओभरमा विना विकेटको क्षतिमा २१ रन बनाएको थियो र सोही अवस्थाबाट नेक्ससले शनिबार दोस्रो ईनिङ सुरु गरेको थियो ।